
काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले कंक्रिट रोड प्रविधिलाई अगाडि बढाउँदा आयात घाटा घटाउन ठुलो योगदान पुग्ने बताएका छन्।
आज सिमेन्ट उत्पादक संघले आयोजना गरेको सिमेन्ट कंक्रिट रोड कनक्लेभ उनले यो अवधारणामा काम गर्न सके नेपालको औद्योगिक विकासमा पनि टेवा पुग्ने मत राखे।
‘कालोपत्रे गर्न आवश्यक सबै सामग्री आयातित हुन। त्यसलाई प्रतिस्थापन गर्न यसले ठुलो भुमिका खेल्छ। आन्तरिक उद्योगलाई यसले राम्रो साथ दिने भएकाले कंक्रिट रोड अवधारणालाई लागू गर्नुपर्नेमा सरकारको पनि साथ हुनेछ,’ उनले भने।
भारतमा कंक्रिट रोडको विकास बारे विज्ञहरुबाट जानकारी लिइएको भन्दै उनले यो प्रविधिलाई नेपालले पनि थोरै स्थानहरुमा अपनाइसकेको बताए।
‘नेपालको रफ टेरेन्ट तथा ट्वीस्ट एण्ड टर्न भएको स्थानमा सिमेन्ट कंक्रिड रोड निर्माण भइरहेको छ। यो प्रविधि नेपालको गाउँगाउँमा पनि प्रयोग भइसकेको छ। नेपालमा खास गरेर सिमेन्ट उत्पादनको २२ मिलियन मेट्रिक टन स्वदेशमा उत्पादन हुन्छ। जसले गर्दा कंक्रिट रोडका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु आन्तरिक रुपमा उपलब्ध छन्। लागतको कुरा गर्नु भन्दा पनि आफ्नै देशमा उत्पादन हुने सामग्रीलाई प्रयोगमा ल्याउन सकिने कुरामा जोड दिनुपर्छ,’ उनले भने।
त्यस्तै उनले कालोपत्रेको तुलानामा सुरुवाती लागत केही बढी लागे पनि यो प्रविधिको ‘लाइफ साइकल’ दिगो रहने र नगन्य मर्मत खर्च हुने बताए।