
काठमाडौं । सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले कंक्रिट रोडले नेपालको सिमेन्ट र छड उद्योगलाई टेवा पुर्याउने बताएका छन्।
आज संघले आयोजना गरेको सिमेन्ट कंक्रिट रोड कनक्लेभमा उनले कंक्रिट रोड निर्माणमा सुरुवाती लागत धेरै परे पनि त्यो दियो हुने बताएका हुन्।
‘मर्मत खर्च शून्य लाग्छ र लामो समयसम्म टिक्छ। यसका लागि सिमेन्ट र छड चाहिन्छ जुन नेपाल आफैले उत्पादन गर्न सक्छ। यसले लोकल उद्योगलाई सहयोग गर्नेछ,’ उनले भने।
त्यसक्रममा उनले सिमेन्ट र छडमा नेपाल आत्मनिर्भर भइसकेको भन्दै अब यसको माग बढाउन पर्ने बताए।
‘बिटुमिनमा बाहिर गइरहेको पैसा यसले रोकेर नेपालको आन्तरिक उद्योगलाई सहयोग पुर्याउँछ। यसको प्रयोग धेरै बढाउनु जरुरी भएको छ,’ उनले भने।

मारुले हाल भारतमा पनि सिमेन्ट कंक्रिट रोड निर्माण भइरहेका भन्दै नेपालमा यसबारेमा सोच्नुपर्ने बेला आइसकेको बताए।
‘यसले काम पनि चाँडो र बलियो पनि हुन्छ। ओभरलोडको समस्या पनि आउँदैन। कालोपत्रको एउटा लोड लिमिटेसन छ। जसको मर्मत लागतहरु धेरै महंगो हुन्छ। तर, कंक्रिट रोडमा त्यस्तो समस्या आउँदैन,’ उनको विचार थियो।
उनले यो अवधारणा कार्यान्वयनका लागि नीतिगत व्यवस्था हुनुपर्ने बताएका छन्। साथै व्यवाहारिक कार्यान्वयनमा पनि उनको जोड छ।

‘यसलाई जतिसक्दो चाँडो अप्नाउनु पर्छ। भारतले जसरी कंक्रिट रोडबाट सफलता हासिल गरेको छ। त्यसलाई नेपालले पनि जतिसक्दो चाँडो अपनाएर विकासको काम गर्नुपर्छ,’ उनको भनाइ छ।