
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दमोदर भण्डारीले विकास निर्माणको काम भइरहे पनि त्यसमा गुणस्तर कायम गर्न चुकेको बताएका छन्।
आज सिमेन्ट उत्पादक संघले आयोजना गरेको सिमेन्ट कंक्रिट रोड कनक्लेभमा उनले सडक पूर्वाधार निर्माणको कामले गति लिए पनि त्यसको गुणस्तर भने कायम हुन नसकेको बताएका हुन्।
‘अहिले धेरै बजेट चाहिने र धेरै काम हुने क्षेत्र सडक पूर्वाधार नै हो। यस्तै, धेरै गुणस्तरहीन काम हुने पनि यही क्षेत्र हो। अहिलेको हाम्रो विकासको ट्रेन्ड अगाडि बनाउदै जाने पछाडि भत्किदै जाने अवस्थाको छ। विकासको काम भए पनि गुणस्तरमा हामी चुकेका छौं,’ उनले भने।
भण्डारीले यो समस्या समाधान गर्न सिमेन्ट कंक्रिट रोडको अवधारणा राम्रो हुने विचार राखे। निर्माणको क्षेत्रमा कंक्रिट रोड टर्निङ पोइन्ट हुने उनको मत छ।
‘अब सुरक्षित तथा व्यवस्थित सडक बनाउन जरुरी भइसकेको छ। पहाडमा कंक्रिट रोड राम्रो हुन्छ। हामी सिमेन्टमा आत्मनिर्भर छौं। निर्यात पनि भइरहेको छ। यसलाई अझै माग बढाएर दिगो विकासको लक्ष्यमा कंक्रिट रोडले साथ दिनेछ,’ उनले भने।
यो अवधारणालाई कार्यान्वयन गर्न सकेमा आत्मनिर्भरताको लक्ष्यमा टेवा पुग्ने उनको मत छ।
उनले क्रसर उद्योगका लागि कानुन निर्माण गरेर संचालन गर्न दिने वातावरण बनाउनुपर्ने पनि बताएका छन्।
‘८०० क्रसर उद्योगमा एउटा मात्रै नविकरण गर्न सकेको अवस्था छ। मापदण्ड यस्तो बनाइदिइएको छ जसले उनीहरुको नविकरण गर्न सक्ने अवस्थामा छैनन्। यसलाई व्यवस्थित गर्न संसदको व्यवस्थापिका समितिमा विधेयक विचारधिनको अवस्थामा छ,’ उनले भने।
भण्डारीले त्यसक्रममा नेपालले आफ्नै बल र स्रोत साधनबाट भरपर्दो र वातावरणमैत्री विकास गर्न सक्ने बताए।