बैंकबाट ९ महिनामा ३.६१ खर्ब ऋण लगानी, निर्माण क्षेत्रतर्फ ११.४ प्रतिशतले वृद्धि

बिजमाण्डू
२०८२ बैशाख २८ गते १८:१३ | May 11, 2025
बैंकबाट ९ महिनामा ३.६१ खर्ब ऋण लगानी, निर्माण क्षेत्रतर्फ ११.४ प्रतिशतले वृद्धि


काठमाडौं। बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष ९ महिनामा ३ खर्ब ६१ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा जाने कर्जा ७.१ प्रतिशतले बढेको हो।

Tata
GBIME

पोहोर ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लगानी ४.६ प्रतिशतले वृद्धि भएको थियो। ९ महिनामा २ खर्ब २२ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.३ प्रतिशतले बढेको छ। निजी क्षेत्रतर्फ वाणिज्य बैंकहरूबाट जाने कर्जा ७.४, विकास बैंकहरूबाट ४.६ र वित्त कम्पनीहरूबाट कर्जा प्रवाह ६.४ प्रतिशतले बढेको छ।

बैंक तथा वित्तीय संस्थाको लगानीमध्ये चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु)को सुरक्षणमा १४.६ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६५.२ प्रतिशत ऋण दिइएको हो।

औद्योगिक उत्पादनतर्फ ९.६, निर्माणमा ११.४, यातायात, थोक तथा खुद्रा व्यापारतर्फ ५.२, संचार तथा सार्वजनिक सेवामा १०.२ प्रतिशत, सेवा उद्योगमा ८.६ प्रतिशत र उपभोग्यतर्फ ८.३ प्रतिशतले कर्जा लगानी बढेको छ।

आवधिक कर्जा ४.९, सेयर धितो कर्जा ३६.८, आयात कर्जा ६०.६, हायर पर्चेज कर्जा ४.१, नगद प्रवाह कर्जा ५.२ र रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

चालु पुँजी कर्जा भने १२.१ प्रतिशतले घटेको छ।