
काठमाडौं। चालु आर्थिक वर्ष ९ महिनामा भित्रिएको रेमिटेन्स पोहोरको सोही अवधिको तुलनामा १० प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यो आर्थिक वर्ष चैत मसान्तसम्म ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ।
कुल रेमिटेन्समध्ये १ खर्ब ४० अर्ब रुपैयाँ चैतमा भित्रिएको हो। फागुन महिनामा १ खर्ब ५१ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो।
वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएपछि रेमिटेन्स रकम बढेको हो। यो वर्ष चैतसम्म ३ लाख ५८ हजार २२२ जना अन्तिम श्रम स्वीकृति र २ लाख ४९ हजार ६५२ जना पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्।
पोहोर ९ महिनामा ३ लाख २७ हजार ८४२ जनाले अन्तिम र २ लाख ११ हजार २२६ जनाले पुनः श्रम स्वीकृति लिएका थिए।