संसदको दुवै सदनबाट आज सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तालिका

बिजमाण्डू
२०८२ बैशाख २८ गते ०६:५५ | May 11, 2025
संसदको दुवै सदनबाट आज सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तालिका


काठमाडौं । आज संघीय संसदको दुवै सदनकझ बैठक बस्दैछ। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यतालिका छ।

Tata
GBIME
NLIC

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तालिका छ‍।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने गरि सम्भावित कार्यसूची तय भएको छ।

त्यस्तै, नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरि कुल ३७ संशोधन प्रस्ताव दर्ता भएका छन्। प्रतिनिधिसभामा यही वैशाख २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो।

सम्भावित कार्यसूचीअनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसैगरी राष्ट्रियसभामा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने सम्भावित कार्यसूची तय भएको छ। प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि पेश भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरि आजै पारित गर्ने कार्यसूची तय भएको छ।

राष्ट्रियसभामा पनि प्रतिनिधिसभामा जस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची निर्धारण गरिएको छ। राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ। रासस