
काठमाडौं। हुवावेले विश्वव्यापीरुपमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको फ्लागसिप कार्यक्रम ‘सिड्स फर द फ्युचर’मा नेपालका तर्फबाट सहभागी हुने विद्यार्थीका लागि आवेदन खुला गरेको छ।
नेपालका विभिन्न कलेज तथा विश्वविद्यालयमा सूचना प्रविधि विषयमा स्नातक तह अध्ययनरत विद्यार्थीलाई लक्षित गरी आवेदन खोलिएको हो। विद्यार्थीलाई आवेदन बुझाउन जेठ ११ गतेसम्मको म्याद दिइएको छ।
‘हुवावेको यो कार्यक्रम सूचना प्रविधिमा रुचि राख्ने स्नातक तहमा अध्ययनरत विद्यार्थीका लक्षित छ,’ हुवावेले भनेको छ, ‘इनोभेसन, डिजिटलाइजेसन, दिगोपन, उद्यमशीलता तथा सांस्कृतिक आदानप्रदानमा रुचि राख्नेका लागि यो कार्यक्रम तयार पारिएको हो।’
सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित हुवावेले सन् २०१९ देखि नेपालमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रममा नेपालबाट हालसम्म १५० जना सहभागी भइसकेका छन्।
आवेदकहरूमध्येबाट निर्णायक मण्डलले विभिन्न चरणमार्फत विद्यार्थी छनोट गर्छन्। छनोट भएका विद्यार्थीले नेपालमा हुने विभिन्न कार्यक्रममा सक्रियरुपमा सहभागी हुनुपर्नेछ।
उनीहरू वर्कसप, एक्सपोजर भिजिट, अन्तर्वार्ता, असाइनमेन्ट र प्रस्तुतीकरण लगायतमा सहभागी हुनेछन्। छनोट हुने उत्कृष्ट विद्यार्थीले चीनमा हुने प्रशिक्षण तथा क्षेत्रीय प्रतिस्पर्धामा भाग लिने अवसर पाउनेछन्।
चीनमा रहँदा उनीहरूले अत्याधुनिक प्रविधि इनोभेसनसम्बन्धी कार्यशालामा भाग लिनेछन्। कार्यक्रममा १०० भन्दा बढी देशका सूचना प्रविधिमा रुचि राख्ने व्यक्तिसँग विद्यार्थीहरूले साक्षात्कार गर्ने अवसर प्राप्त गर्नेछन्।
यस्तै, अन्तर्राष्ट्रिय ब्राण्डसँग काम गर्न पाउने अवसर प्राप्त गर्नेछन्।
हुवावेका अनुसार सहभागीहरूले आर्टिफिसियल इन्टेलिजेन्स, फाइभजी, ग्रीन टेक र पछिल्लो समय सूचना प्रविधिमा विकसित जानकारी हासिल गर्नेछन्।