एप्पलका लागि आइफोन बनाउँदै आएको फक्सकनले मित्सुबिशीको विद्युतीय गाडी उत्पादन गर्ने

बिजमाण्डू
२०८२ बैशाख २५ गते ०८:२० | May 8, 2025
एप्पलका लागि आइफोन बनाउँदै आएको फक्सकनले मित्सुबिशीको विद्युतीय गाडी उत्पादन गर्ने
तस्बिर : एपी।


फक्सकनले जापानी गाडी निर्माता मित्सुबिशी मोटर्सका लागि विद्युतीय गाडी (इभी) उत्पादन गर्ने योजना सार्वजनिक गरेको छ। फक्सकनले एप्पलका लागि आइफोन उत्पादन गर्दै आइरहेको छ।

Tata
GBIME
NLIC

फक्सकनले ताइवानमा मित्सुबिशीका लागि गाडी डिजाइन र निर्माण गर्ने योजना अघि सारेको हो। दुवै कम्पनीले नयाँ मोडल सन् २०२६ को अन्त्यसम्ममा बजारमा ल्याइने बताएका छन्।

यो फक्सकनको इभी क्षेत्रमा पहिलो ठूलो सम्झौता हुनेछ। इभी अहिले तीब्र प्रतिस्पर्धात्मक र द्रुत रूपमा बृद्धि हुँदै गएको बजार हो। विशेषगरी मित्सुबिशी लगायतका जापानी गाडी निर्माता कम्पनीहरूले दक्षिणपूर्वी एसिया, दक्षिण अमेरिका र युरोप जस्ता बजारहरूमा चिनियाँ कम्पनीहरूबाट बढ्दो प्रतिस्पर्धाको सामना गरिरहेका छन्।

मित्सुबिशीका इभी गाडीहरू फक्सट्रोनमार्फत निर्माण गरिनेछन्। फक्सट्रोन फक्सकन र ताइवानी गाडी निर्माता युलोन मोटरबीचको संयुक्त उद्यम हो। फक्सट्रोनले गाडीको डिजाइन र निर्माण व्यवस्थापन गर्नेछ।

हालको अवस्थामा यो सम्झौता एक गैर-बाध्यकारी सम्झौता हो, जसमा दुवै कम्पनीले अन्तिम सम्झौताका लागि छलफल अघि बढाउने बताएका छन्।

फक्सकन विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स उत्पादन कम्पनी हो। यसको ग्राहक सूचीमा एप्पलजस्ता प्रमुख प्रविधि कम्पनीहरू छन्।

यसअघि फक्सकनले जापानी गाडी निर्माता निसान मोटरमा लगानी गर्ने विचार व्यक्त गरेको थियो, जसको उद्देश्य गाडी उद्योगमा सहकार्य गर्ने थियो। मित्सुबिशी मोटर्स निसान र फ्रान्सेली कम्पनी रेनोल्टबीचको सहकार्यमा बनेको हो।

चीनको गाडी उद्योग पछिल्ला वर्षहरूमा तीब्र रूपमा विस्तार भएको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा चीन अहिले बढ्दो इभी बजारको लिडरको रूपमा उदाएको छ।

विश्वभरका स्थापित गाडी निर्माता कम्पनीहरूले प्रतिस्पर्धा गर्न संघर्ष गरिरहँदा बीवाइडी लगायत चिनियाँ कम्पनीहरू नयाँ ग्राहक तात्न सफल भइरहेका छन्।