आईपीएलको प्लेअफ समीकरण : होडमा सात टोली, कसलाई कस्तो नतिजा चाहिन्छ ?

बिजमाण्डू
२०८२ बैशाख २४ गते १६:१४ | May 7, 2025
आईपीएलको प्लेअफ समीकरण : होडमा सात टोली, कसलाई कस्तो नतिजा चाहिन्छ ?


इण्डियन प्रिमियर लिग (आईपीएल)मा लिग चरणका ५६ खेल सकिँदा प्लेअफको होड रोमाञ्चक बनेको छ। लिग चरणका १४ खेल बाँकी रहँदा १० मध्ये सात टोली प्लेअफको होडमा छन्।

Tata
GBIME
NLIC

सात टोलीमध्ये गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेङ्ग्लुरु र पञ्जाव किंग्स बलियो अवस्थामा छन्। मुम्बई इण्डियन्स, दिल्ली क्यापिटल्स, लखनउ सुपर जायन्ट र कोलकाता नाइट राइडर्सले पनि प्लेअफको सम्भावनालाई कायमै राखेका छन्।

चेन्नइ सुपर किंग्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद प्लेअफको होडबाट बाहिरिसकेका छन्। प्लेअफमा पुग्न सातमध्ये कुन टोलीलाई कस्तोनतिजा चाहिन्छ त?

बलियो स्थितिमा गुजरात र बेङ्ग्लुरु

यी दुबै टोली ११ खेलमा ८ जित र ३ हार ब्यहोर्दै १६ अंकसहित शीर्ष दुईमा छन्। यी दुबै टोलीले अब एक खेल जिते प्लेअफमा स्थान बनाउने पक्का छ। दुबैले तीन खेल खेल्न बाँकी छ। बलियो स्थितिमा रहे पनि बाँकी सबै खेल हारेको खण्डमा यी टोली बाहिरिने सम्भावना हुन्छ।

रनरेटमा बेङ्ग्लुरुभन्दा अघि रहेको गुजरातले दिल्ली क्यापिटल्स, लखनउ सुपर जायन्ट र चेन्नइ सुपर किंग्ससँग तथा बेङ्ग्लुरुले लखनउ सुपर जायन्ट, सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स भिड्न बाँकी छ।

प्लेअफमा पुग्ने बलियो सम्भावना भएका यी दुई टोलीको नजर शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्नेमा रहनेछ।

सम्भावना खोज्दै पञ्जाव, मुम्बई र दिल्ली

शीर्ष दुई टोली गुजरात र बेङ्ग्लुरुको प्लेअफमा बलियो दाबेदारी देखिँदा बाँकी दुई स्थानका लागि पञ्जाव किंग्स, मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच चर्को प्रतिस्पर्धा देखिन्छ।

अंक तालिकामा ११ खेलबाट १५ अंक बनाएको पञ्जाव तेस्रो, १२ खेलबाट १४ अंक बनाएको मुम्बई चौथो र ११ खेलबाट १३ अंक बनाएको दिल्ली क्यापिटल्स पाँचौँ स्थानमा छन्।

पञ्जावलाई प्लेअफ पुग्न तीनमध्ये दुई जित आवश्यक छ। उसले दिल्ली क्यापिटल्स, मुम्बई इण्डियन्स र राजस्थान रोयल्ससँग भिड्न बाँकी छ। १५ अंकले पनि प्लेअफ पुग्ने झिनो गणितीय सम्भावना छ। तर, यसका लागि प्लेअफको होडमा रहेका अन्य टोलीको नतिजा पञ्जावको अनुकूल आउनुपर्नेछ।

झिनो आशामा कोलकाता र लखनउ

प्लेअफ पुग्ने झिनो आशा कायमै रहेका टोली हुन् कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट। समान ११ खेल खेल्दा कोलकाता ११ अंकसहित छैटौं र लखनउ १० अंकसहित सातौँ स्थानमा छन्।

लखनउले अब बेङ्ग्लुरु, गुजरात र हैदराबादसँग खेल्न बाँकी छ। यी तीनवटै खेल जितेको खण्डमा लखनउको प्लेअफ सम्भावना रहन्छ। दुई खेल मात्र जिते प्लेअफ नपुग्ने पक्का छ।

अर्कातर्फ कोलकाताले चेन्नइ, हैदराबाद र बेङ्ग्लुरुसँग गरी तीन खेल खेल्न बाँकी छ। तीनवटै खेलमा जित निकालेको खण्डमा कोलकाता प्लेअफ पुग्ने समीकरण बन्छ।

बाहिरिए हैदराबाद, चेन्नइ र राजस्थान

प्लेअफ पुग्ने होडबाट सनराइजर्स हैदराबाद, चेन्नइ सुपर किंग्स र राजस्थान रोयल्स बाहिरिसकेका छन्। हैदराबादले ११ खेलबाट ७, राजस्थानले १२ खेलबाट ६ र चेन्नइले ११ खेलबाट ४ अंक बनाएका छन्। प्लेअफ पुग्ने सम्भावना टुंगिए पनि प्लेअफको होडमा रहेका अन्य टोलीको समीकरणलाई भने यी तीन टोलीले परिवर्तन गर्ने क्षमता राख्छन्।