
इटालियन क्लब इन्टर मिलान यूएईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लेगको खेलमा स्पेनिस जायन्ट बार्सिलोनालाई ४-३ गोलअन्तरले हराएको इन्टर समयग्रमा ७-६ गोलको जित निकाल्दै फाइनलमा पुगेको हो। पहिलो लेगमा यी दुई टोली ३-३ गोलको बराबरीमा रोकिएका थिए।
इन्टर मिलानको घरेलु मैदान सन सिरोमा सम्पन्न खेलको २१ औँ मिनेटमा लौटरो मार्टिनेजले गोल गर्दै बार्सिलोनाविरुद्ध अग्रता दिलाएका थिए। ४५ औँ मिनेटमा पेनाल्टीमा पाएको अवसरलाई सदुपयोग गर्दै हकान कलहानोग्लुले अग्रता दोब्बर बनाए। पहिलो हाफमा इन्टर मिलान २-० गोलले अघि रह्यो।
दोस्रो हाफमा भने बार्सिलोनाले पुनरागमन गर्न सफल भयो। ५४ औँ मिनेटमा एरिक गार्सिया र ६० औँ मिनेटमा ड्यानी अल्मोले गोल गर्दै खेल बराबरीमा ल्याए। ८७ औँ मिनेटमा राफिन्हाले गोल थप्दा बार्सिलोना जितको नजिक पुगिसकेको थियो। तर, इन्ज्युरी समयमा फ्रान्सेस्को अकेर्बीले गोल थप्दा खेल बराबरीमा पुग्यो र अतिरिक्त समयमा खिचियो।
अतिरिक्त समयमा डाभिडे फ्राट्टेसीले इन्टरका लागि निर्णायक गोल गरे। उनको ९९ औँ मिनेटको गोलले इन्टर बार्सलोनालाई पछि पार्दै फाइनल पुग्न सफल भयो।
इन्टरले अब उपाधिका लागि इङ्ग्लिस क्लब आर्सनल र फ्रेन्च क्लब पीएसजीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टोली दोस्रो लेगको खेलमा आज राति भिड्नेछन्। सेमिफाइनलको पहिलो लेगबाट पीएसजी १-० गोलले अगाडि छ।