नेपालमा उद्योग संचालनमा के छन् कठिनाइ? बहुराष्ट्रिय कम्पनीले औंल्यायो यी समस्या

बिजमाण्डू
२०८२ बैशाख २३ गते १८:३८ | May 6, 2025
नेपालमा उद्योग संचालनमा के छन् कठिनाइ? बहुराष्ट्रिय कम्पनीले औंल्यायो यी समस्या

काठमाडौं। नेपाल-भारत उद्योग वाणिज्य संघले नेपालमा औद्योगिक वातावरणका विषयमा बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालसँग छलफल गरेको छ।

Tata
GBIME

संघका अध्यक्ष सुनिल केसीले मंगलबार युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमला मुखर्जीसहितका प्रतिनिधिसँग छलफल गरेका हुन्।

लगानीबापतको लाभांश फिर्ता, कच्चा पदार्थ आयातमा तयारी वस्तुको भन्दा बढी भन्सार महसुल, बहुराष्ट्रिय कम्पनीमा कार्यरत उच्च पदका कर्मचारीको पारिश्रमिकको ३० प्रतिशत नेपालमै खर्च गरिनुपर्ने सीमा लगायत विषयमा छलफल भएको संघले जनाएको छ।

युनिलिभरका अधिकारीहरुले कच्चा वस्तु आयातमा भन्सार दर तयारी वस्तुमा भन्दा कम्तीमा एक तह कम हुनुपर्ने तथा प्याकेजिङ सामग्रीको अन्त:शुल्कमा क्रेडिट सुविधा उपलब्ध गरिनुपर्ने व्यवस्थाका लागि पहल गरिदिन केसीलाई आग्रह गरेका थिए।

यस्तै बैंक ग्यारेन्टीका सन्दर्भमा कोल्याटरल सम्बन्धी बैंकहरुको अस्थिर नीतिका कारण वितरक कम्पनीहरुले समस्या भोग्नुपरिरहेको पनि युनिलिभरका अधिकारीहरुले बताएका छन्।

संघका अध्यक्ष केसीले बहुराष्ट्रिय कम्पनीले भोग्नुपरेका समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका थिए।