
काठमाडौं। पूर्वअर्थमन्त्री महेश आचार्यले मुलुकको अर्थतन्त्र निक्कै कमजोर बनिसकेको भन्दै अब नेतृत्व कांग्रेसले लिनुपर्ने बताएका छन्।
उनले संकटबाट पार लगाउनका लागि अरु दलका नेतासँग सहकार्य गरी नेतृत्व लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिए।
कांग्रेस कार्यालय सानेपामा मंगलबार गरिएको बजेट सम्बन्धी संवाद कार्यक्रममा आचार्यले उद्योगी व्यवसायीले लगानी गर्न नमानेर बैंकमा पैसा थुप्रिनुलाई गम्भीर रुपमा लिएर देशलाई यो अवस्थाबाट पार लगाउन कांग्रेसले अब नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।
‘बैंकहरुमा पैसा छ। ऋण माग्न उद्योगीमा जाँगर देखिएन। सरकारसँग पैसा छ। त्यो खर्च गर्न सक्ने क्षमता भएन। त्यसैले देउवाले अरु दलका नेतासँग सहकार्य गरेर यो संकटबाट उद्धार गर्न नेतृत्व लिनुपर्छ,’ उनले भने।

उनले अहिलेको संकटलाई बेवास्ता गरे देश आर्थिक रुपमा थप अप्ठेरोमा पर्ने चेतावनी दिए। ‘कांग्रेस अब दार्शनिक बहसमा अल्मलिनु हुँदैन। बाहिर के भइरहेको छ? यसबारे नेतृत्वमा बसेकाहरु जानकार हुनुपर्छ। ऋणको साँवा ब्याज तिर्नुपर्ने दायित्व बढ्दै गइरहेको छ। सुधार गरिएन भने देशमा हिमाल छ, स्रोत छ भनेर हुँदैन,’ उनले भने।
आचार्यले प्रजातन्त्र पुनर्बहालीपछि कांग्रेसकै नेतृत्वमा देशमा आर्थिक सुधार गरिएको र यसबारे देउवा जानकार रहेको भन्दै अहिले पनि कांग्रेसकै नेतृत्वमा सुधारको आवश्यकता औंल्याए।
‘४५ सालमा भारतले गरेको नाकाबन्दीका कारण पछि अर्थतन्त्रका इन्डिकेटर कमजोर देखिन थाले। म्याक्रो इकोनोमीमा ड्रामाटिक रिफर्म गर्नुपर्न देखियो। गिरिजाबाबुको स्ट्रङ लिडरसिपमा रिफर्म सुरु भयो। राष्ट्रिय योजना आयोगमा रामशरण महत रहेको बेला स्वास्थ्यदेखि पिउने पानीको क्षेत्रमा लगानी हुन थाल्यो। गिरिजाबाबुले प्रशासनलाई काम चाँडो र कानुनी झमेला भए सुधार्न भन्नुभयो। यसले युगान्तकारी परिवर्तन भयो। त्यसको साक्षीका रुपमा गृह मन्त्रालयको नेतृत्वमा देउवा हुनुहुन्थ्यो,’ आचार्यले भने।