
काठमाडौं। नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बूले ऊर्जा राज्यमन्त्रीबाट पूर्णबहादुर तामाङलाई बर्खास्त गरिएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेका छन्।
उनले मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा तामाङलाई बर्खास्त गरिएकामा आपत्ति जनाउँदै ओलीको जवाफ मागेका हुन्।
उनले गठबन्धन सरकारमा मन्त्रीलाई सम्बन्धित दलले फिर्ता बोलाउने प्रणाली हुनुपर्ने भन्दै बर्खास्तगीले राम्रो सन्देश नगएको बताए।
‘राज्यमन्त्रीको बर्खास्तगीको कुरा यहाँ राख्न चाहन्छु। कोलियसन गभर्नमेन्ट छ। अर्को पार्टनरको साथी नराम्रो भए सम्बन्धित पार्टनरलाई फिर्ता बोला भन्नुपर्यो नि। बर्खास्त राम्रो भएन नि। मेसेज राम्रो भएन,’ उनले भने, ‘पूर्णबहादुर तामाङले भनेको कुरा प्रधानमन्त्रीलाई मन परेन होला। तर, त्यसको विधि प्रक्रिया हुन्छ। विधि मिच्ने त। मन परेन भनेर फ्याट्ट बर्खास्त गरिदिने? प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु, कोसँग मिलेर सरकार चलाउनुभएको छ? सम्बन्धित दलको मन्त्रीलाई सम्बन्धित दलले फिर्ता बोलाउने प्रणाली हुनुपर्यो। त्यसैले बर्खास्तगीमा हाम्रो आपत्ति छ। यो विषयमा प्रधानमन्त्रीले भन्नु होला, के हो भाको?’
ओलीले तामाङलाई वैशाख १० गते ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए।
कांग्रेस सांसद लिम्बूले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइको विषयमा पनि जवाफ मागेका छन्। उनले गभर्नर नियुक्तिमा ढिलाइ गरेर सरकारले दुनियाँ खालको गीत गाउने मौका दिएको बताए।
‘आगामी वर्षको बजेट बनिरहेको छ। यस्तो महत्वपूर्ण समयमा राष्ट्र बैंकको गभर्नर नियुक्ति भइरहेको छैन। सवर्त्र चासोको विषय बनिरहेको अवस्था छ। मौद्रिक नीति बनाउने राष्ट्र बैंकमा गभर्नरको नियुक्ति किन भइरहेको छैन? चासो चिन्ता हुन्छ नि त। मेरो होला, तेरो होला, कसैको होला। तर, यथाशीघ्र नेतृत्व दिनुपर्यो,’ उनले भने, ‘म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, दुनियाँ खालको गीत गाउने मौका दिएर राम्रो भएन।’