
काठमाडौं। काठमाडौंको पिंगलास्थानस्थित पशुपति भिजन अगाडिबाट मोटरसाइकल सवारका झोलाबाट बरामद करिब एक करोड रुपैयाँ हुन्डी कारोबारीको भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
पक्राउ परेका चार जनाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले हुन्डी कारोबारमा मुद्दा चलाउने तयारी गरेको छ। घटना अनुसन्धानका लागि उनीहरुलाई थुनामा राख्न प्रहरीले अदालतमा म्याद थप गर्न लागेको छ।
परिसरका एसपी अपिल बोहोराले हालसम्मको अनुसन्धानमा उक्त रकम हुन्डीको देखिएको बताए। ‘रकम हुन्डीको भएको खुलेको छ। पक्राउ परेकाहरु भरिया मात्र भएको देखिन्छ,’ एसपी बोहोराले भने।
प्रहरीले आइतबार दुई मोटरसाइकल सवार चार जनाका झोलामा ९५ लाख १७ हजार ५ सय रुपैयाँ बरामद गरेको थियो। रकमको स्रोत खुलाउन नसक्दा उनीहरुलाई पक्राउ परेका थिए।
पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर-३ फेदीका २९ वर्षीय समुद्र जमकट्टेल, सप्तरीको सप्तकोशी-१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोर्दी-३ का ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे छन्।
प्रहरीले पैसा कसको भन्ने खोजी गरिरहेको छ। अहिलेसम्म उनीहरु भरिया मात्र भएको देखिएको छ। पक्राउ परेकाहरुले रकम कसैलाई दिनको लागि गइरहेको सोधपुछका क्रममा बताएका छन्।
रकम र कोड नम्बर दिएर उनीहरुलाई पठाइएको थियो। त्यसैको आधारमा अर्को सोही कोड नम्बर दिएपछि उनीहरुले रकम दिने योजना थियो। तर, प्रहरीले बीचैमा विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।