अप्रिलमा एक लाख १६ हजार विदेशी पर्यटकले घुमे नेपाल, बढेनन् भारतीय र चिनियाँ पर्यटक

बिजमाण्डू
२०८२ बैशाख २० गते १४:४१ | May 3, 2025
अप्रिलमा एक लाख १६ हजार विदेशी पर्यटकले घुमे नेपाल, बढेनन् भारतीय र चिनियाँ पर्यटक


काठमाडौं। सन् २०२५ को अप्रिल महिनामा १ लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन्।

Tata
GBIME
NLIC

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट ९ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट ६ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन्। पछिल्लो आँकडा हेर्दा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन्।

बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६.५ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ। कोरोना महामारीपूर्व सन् २०१९ को अप्रिल महिनामा सबैभन्दा धेरै १ लाख ९ हजार ३९९ विदेशी पर्यटक नेपाल आएका थिए।

सन् २०२४ को अप्रिलमा १ लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल आए भने सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका थिए।

‘हामीले आधिकारिक रुपमा १०६.५ प्रतिशत पूर्व-महामारी स्तरमा पुगेका छौँ, यसले बलियो ‘रिकभरी’ र नेपालमा बढ्दो विश्वव्यापी चासो देखाउँछ,’ बोर्डले उल्लेख गरेको छ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अप्रिल महिनाको पर्यटक आगमन उत्साहवर्द्धक रहेको बताए।

‘यो वृद्धि नेपालको स्थायी आकर्षण र पर्यटन सभ्यताको प्रमाण हो,’ उनले भने।

बोर्डको विवरणमा वर्षको ४ महिना (जनवरी-अप्रिल) को अवधिमा ४ लाख १५ हजार ४८ पर्यटक नेपाल भित्रिएका छन्। जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८० र मार्चमा १ लाख २१ हजार ८ सय विदेशी पर्यटक नेपाल आएका थिए। रासस