
विराटनगर। नेपाल उद्योग परिसंघ कोशी अन्तर्गतको युवा उद्यमी मञ्चले विराटनगरमा प्रथम कोशी आइटी सम्मेलनको आयोजना गर्ने भएको छ।
मञ्चको आयोजनामा आगामी शनिबार विराट मेडिकल कलेजको आइटी हलमा एक दिने सम्मेलन हुन लागेको हो। मञ्चका अध्यक्ष मुनन रिजालले सम्मेलनमा कोशी प्रदेशमा आइटी क्षेत्रमा लगानीको अवस्था, सम्भावना र चुनौतीबारे छलफल गरिने जानकारी दिए।
सम्मेलनमा यस प्रदेशमा आइटी क्षेत्रमा लगानी गर्न के–के समस्या छन् भन्ने विषयमा अन्तरक्रिया गरेर समाधानका उपायको पहिचान गरिने उनले बताए।
सम्मेलनमा कोशी प्रदेशमा आइटीमा अध्ययनरत ५ सय विद्यार्थीको सहभागिता रहनेछ। आइटी सम्मेलनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परिसंघ कोशीका अध्यक्ष पवनकुमार शारडाले आइटीबिना आजको उद्योगव्यवसायको कल्पना पनि गर्न नसकिने चर्चा गरे।
नेपालले अब निर्यातका क्षेत्रमा आइटीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनले उल्लेख गरे ।