११ वटा जिल्लाबाट १७ अर्ब भन्दा बढीको अवैध कारोबार, २१ जना प्रहरी नियन्त्रणमा

बिजमाण्डू
२०८२ बैशाख १५ गते १६:४८ | Apr 28, 2025
११ वटा जिल्लाबाट १७ अर्ब भन्दा बढीको अवैध कारोबार, २१ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । ठूलो मात्रामा अवैध रुपमा डिजिटल कारोबार गरि अपराधिक क्रियाकलापको भुक्तानीमा संलग्न भएको आरोपमा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ।

Tata
GBIME

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीइआबी)को टोलीले ११ वटा जिल्लाबाट २१ जनालाई नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेहरुले आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण बापत् प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरेको पाइएको छ। उनीहरुले आन्तरिक विप्रेषणको नाममा नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा संलग्न रहेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुले अवैध कारोबार बापत प्राप्त गरेको गैर कानूनी रकमलाई डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल प्रालि) कम्पनीको नाममा नेपालमा रहेका बैंक खाताहरुमा जम्मा गर्नको लागी ‘मनी मुल’ हरुलाई परिचालन गरेको देखिएको छ।

उनीहरुले यसरी ठुलो परिमाणमा नगदै रकम खातामा ‘प्लेसमेन्ट गरि सो रकमलाई विभिन्न भुक्तानी गर्न अनुमति लिएका मनि ट्रान्फरहरुले वालेट कम्पनीहरु मार्फत ‘इ-मनी’ बनाउने गरेका थिए। त्यसपछि रकमलाई रेमिटन्स बापत् भुक्तानी पाउनु पर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरुका नेपालमा रहेका आफन्तहरुको खातामा ट्रान्सफर गरेर सो बापतको रकम हिसाब मिलान गरेको देखिएको छ।

उनीहरुले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ कारोबार गरेको खुलेको छ। सीआइबीले यसअघि दुई वालेटका संचालक र कर्मचारीलाई पक्राउ गरि अनुसन्धान गरेको थियो।

सम्बन्धित समाचार : हुन्डी र अवैध सुनको भुक्तानीमा जोडियो सजिलो पे र पेवेल वालेट, अध्यक्षदेखि कर्मचारी पक्राउ