हुन्डी र अवैध सुनको भुक्तानीमा जोडियो सजिलो पे र पेवेल वालेट, अध्यक्षदेखि कर्मचारी पक्राउ

सविन ढकाल
२०८१ जेठ २७ गते १६:१७ | Jun 9, 2024
हुन्डी र अवैध सुनको भुक्तानीमा जोडियो सजिलो पे र पेवेल वालेट, अध्यक्षदेखि कर्मचारी पक्राउ

काठमाडौं। ६० किलो सुन प्रकरणमा सजिलो पे पेमेन्ट र पेवेलका केही कर्मचारी पक्राउ परेका छन्।

Tata
GBIME

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले केही दिनदेखि ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पेवेलका अध्यक्ष भीमप्रसाद तिमल्सिना, कर्मचारीहरू प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर लगायत रहेका छन्।

एक जना लामा थरका कर्मचारी उपचारको क्रममा अस्पतालमा रहेका छन्। सजिलो पेका अध्यक्ष भने फरार सुचीमा रहेका छन्।

सुन तस्करीहरूले सुनको रकम पठाउनको लागि दुई वटा वालेट एकाउन्ट प्रयोग गरेको देखिएको छ। नेपाल राष्ट्र बैंकले हुन्डी लगायत गैर कानुनी भुक्तानी कारोबारको शंकामा अनुसन्धानको घेरामा परेका दुई भुक्तानी सेवा प्रदायक कम्पनीका बैंक खाता रोक्का गरेको छ।

पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेजको खाता नेपाल राष्ट्र बैंकले रोक्का गरेको हो।

राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै नियामकीय अनुपालनासम्बन्धी छानबिनका लागि दुवै भुक्तानी सेवा प्रदायक कम्पनीका बैंक तथा वित्तीय संस्थामा रहेका खाता बन्द गरेको जनाएको छ। अर्को निर्णय नभएससम्मको लागि यी संस्थाका खाता रोक्का गरिएको राष्ट्र बैंकको सूचनामा छ।

अहिले ६१ किलो सुन प्रकरणमा सीआइबीले पुनः अनुसन्धान गरिरहेको छ। जसको क्रममा वालेटमा भएको बदमासी बाहिरिएको हो। तस्करले वालेटमा कम्पनीको नाममा रकम डिपोजिट गर्थे। यसरी जम्मा भएको रकम कम्पनीले आफ्नो बैंक खातामा जम्मा गर्ने गरेको थियो।

दुई वालेट कम्पनी विभिन्न १८ वटा बैंकमा जोडिएका थिए। तस्करहरूले त्यसैमा रकम जम्मा गर्ने गरेका थिए। त्यसपछि तेस्रो पक्षलाई भुक्तानी दिने गरेको देखिएको हो। यस्ता कम्पनीले एक दिनमा २ लाख रुपैयाँसम्म कारोबार गर्न पाउँछन्। तर कुनै दिन २५ लाख रुपैयाँसम्मको कारोबार भएको देखिएको छ।

‘दुवै वालेटको कारोबारमा शंका लागेपछि अनुसन्धान गरेका हौं। केही मानिसलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ,’ सीआइबी प्रमुख एआइजी श्याम ज्ञवालीले भने।

दुई वटा वालेटबाट अहिलेसम्म ३ अर्ब भन्दाबढी कारोबार भएको देखिएको छ। गत साउन २ गते हङकङबाट ब्रेक शुमा भएको ६१ किलो सुन बरामद भएको थियो। जसमा प्रहरीले गत भदौ ३१ गते २९ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाइसकेको छ। केही प्रतिवादी अझै फरार रहेका छन्। जसमा केही पुर्पक्षको लागि थुनामा छन्। त्यस्तै हुन्डीसम्बन्धी अरु रकमको कारोबार भएको अनुसन्धानमा देखिएको छ।

सरकारले गत असोजमा ६१ किलो सुनमा छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले बुझाएको प्रतिवेदनको आधारमा अनुसन्धान त्रुटि देखाएपछि सीआइबीले पुनः अनुसन्धान गरिरहेको छ। अहिले सीआइबीले यस प्रकरणमा जोडिएका थप १० जनालाई पक्राउ गरेको छ।

‘सुनमा १० जना समातिएका छन्। थप अनुसन्धान भइरहेको छ,’ एआइजी ज्ञवालीले भने।