बजेटबारे कांग्रेसलाई महासंघको सुझाव, ‘आर्थिक समृद्धिका लागि नीतिगत स्थायित्व आवश्यक’

बिजमाण्डू
२०८२ बैशाख १५ गते १४:५५ | Apr 28, 2025
बजेटबारे कांग्रेसलाई महासंघको सुझाव, ‘आर्थिक समृद्धिका लागि नीतिगत स्थायित्व आवश्यक’


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सेमेटनु पर्ने विषयबारे सत्तारुढ नेपाली कांग्रेसलाई विभिन्न सुझाव दिएको छ।

Tata
GBIME
NLIC

नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक न्यायसहितको खुला अर्थतन्त्र विस्तार, नयाँ चरणको आर्थिक सुधारका लागि संरचनात्मक परिवर्तन, निजी क्षेत्र प्रवर्धन गर्ने गरी बजेट ल्याउन सुझाव दिए।

उनले लगानी अभिवृद्धि, सुशासन प्रवर्धन तथा सार्वजनिक खर्चको प्रभावकारितालाई बजेटको उद्देश्यमा समेटिनुपर्ने बताए।

‘उद्योग व्यवसाय विस्तारको वाधकका रुपमा राजनीतिक र नीतिगत अस्थिरता देखिएको छ। त्यसैले नीतिगत स्थायित्वलाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने, ‘धेरै देशले नीति र संस्थालाई स्थीर बनाइ आर्थिक उन्नति हासिल गरेका छन्। थाइल्याण्ड त्यसको एउटा उदाहरण हो। त्यसैले कांग्रेसले नीतिगत स्थायित्वका लागि पहल गर्नुपर्छ। अबको दश वर्ष नीतिगत परिवर्तन नगर्ने सहमति गर्नुपर्छ।’

ढकालले लगानी दशक घोषणा गरी लगानी सम्बन्धी कानुनलाई एकीकृत गरेर लगानीकर्तालाई आकर्षित गर्नुपर्ने बताए। पुँजीगत बजेट पूरै खर्च नहुने समस्याका कारण बजारमा माग सिर्जना हुन नसकेको र निजी क्षेत्रको व्यवसाय प्रभावित उनको भनाइ छ।

युवाहरुलाई व्यवसायप्रति आकर्षित गर्न सुशासनको प्रत्याभूति गरी नागरिक एपबाट व्यवसाय दर्तादेखि सम्पूर्ण काम गर्न सक्ने व्यवस्था मिलाउन तथा राजस्व बुझाएकै आधारमा नवीकरण गर्ने व्यवस्था गर्न महासंघले सुझाव दिएको छ।

महासंघले दोस्रो चरणको आर्थिक सुधारलाई अगाडि बढाउने गरी बजेट बनाउन सुझाव दिएको छ। कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेता सहभागी थिए।