आजदेखि अण्डाको मूल्य बढाउने कुखुरापालक संघको निर्णय, प्रतिक्रेट कति पुग्यो ?

बिजमाण्डू
२०८२ बैशाख १४ गते ०८:४३ | Apr 27, 2025
आजदेखि अण्डाको मूल्य बढाउने कुखुरापालक संघको निर्णय, प्रतिक्रेट कति पुग्यो ?


काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाउने निर्णय गरेको छ। संघको शनिबार सम्पन्न छलफलले आजदेखि लागू हुने गरि अण्डाको मूल्य बढाउने निर्णय गरेको हो।

Tata
GBIME
NLIC

नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुने गरि ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) ४३०,  मध्यमको ३८० र  ‘एक्सएल’को ४५० कायम गरिएको बताए। यसअघि  ठूलो अण्डाको मूल्य ३५० रुपैयाँमा झरेको थियो।

पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य हाल भने विस्तारै उकालो लाग्न थालेको छ। गत वर्ष प्रतिक्रेट (३० गोटा) को ५२५ रुपैयाँसम्म पुगेको अण्डाको मूल्य घटेर ३५० मा पुगेको थियो। अहिले मूल्यमा वृद्धि भएर ४५० पुगेको छ।

एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) तीन हजार १४०, ठूलो अण्डा तीन हजार र मझौलाको दुई हजार ६५० रुपैयाँ कायम गरिएको छ। योसँगै किसानलाई केही राहत मिल्ने पोखरेल बताउँछन्।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ पर्न आउँछ। अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डा प्रतिपेटी तीन हजार ६७५ रुपैयाँ सम्म पुगेको थियो।

सो समयमा किसानले उत्पादन मूल्य पाएको भए पनि पछिल्ला दिनमा अण्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत पाउन गाह्रो हुने गरेको पोखरेलको भनाइ छ।

उनले भने, ‘गर्मीका कारण अण्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढेको हो।’ उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ।

संघका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ।

‘अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ,’ उनले भने, ‘अण्डाको मूूल्य बढेपछि किसान उत्साहित बनेका छन्। अहिले दैनिक ३० लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ।’

नेपालमा कुखुरापालक किसानले लागत मूल्य नपाएपछि धेरै विस्थापित भएको संघले जनाएको छ। रासस