२५ करोड प्रकरणमा मुख्य मुद्दा दुई जनाविरुद्ध, ‘पैसा ट्रकमा लोड पौडेलको गोदाममा’

बिजमाण्डू
२०८२ बैशाख २ गते १६:२५ | Apr 15, 2025
२५ करोड प्रकरणमा मुख्य मुद्दा दुई जनाविरुद्ध, ‘पैसा ट्रकमा लोड पौडेलको गोदाममा’


काठमाडौं । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा प्रकरणको अनुसन्धान सकेर राजस्व अनुसन्धान विभागले अभियोग पत्र दायर गरेको छ। मंगलबार सरकारी वकिल कार्यालय काठमाडौंको रायपछि विभागले जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर गरेको हो।

Tata
GBIME
NLIC

मुद्दामा विभागले दुई जनालाई मुख्य कसुरवार आरोप लगाएको छ। सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय फुच्च भनिने कुसाङ लामा र नारायण पौडेललाई अभियोगपत्रमा मुख्य अभियुक्त बनाइएको हो। प्रहरीले बरामद गरेको २५ करोड रुपैयाँको मालिक पौडेल भएको खुलाइएको छ। ट्रक चालक कुसाङलाई पनि मुख्य अभियुक्त नै बनाइएको छ।

चैत ४ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाबाट ट्रकभित्र राखिएको उक्त रकम बरामद गरेको थियो। ट्रकका चालक कुसाङ थिए। उनको साथबाट बरामद भएको मोबाइल, बैंक एकाउन्टमा भएको डिपोजिट रकम र अन्य कुराको आधारमा राजस्व अनुसन्धान विभागले २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा पौडेलको भएको खुलाएको थियो।

पौडेल भने सोही दिनदेखि फरार छन्। टोखाको बालकुमारी मन्दिरमा पौडेलको मोबाइलको अन्तिम लोकेसन देखिएको छ। त्यसपछि मोबाइल अफ भएको देखिएको छ। पौडेलको घर टोखामै छ।

अभियुक्त दुवै जना सुन, हुन्डी लगायतको विषयमा पटके कारोबारी भएको खुलेको छ। दुवैलाई २५ करोड रुपैयाँ बराबरको बिगो दाबी र त्यसको तीन गुणा जरिवाना मागसहित अभियोग पत्र दायर भएको विभागका एक कर्मचारीले जानकारी दिए।

त्यस्तै पटके अपराधको आधारमा पनि सजाय माग गरिएको छ। उनीहरू विरुद्ध थप तीन वर्षको कैद माग गरिएको हो।

अनुसन्धानपछि पौडेलको बैंक खाता, जग्गा जमिन रोक्का गरिएको छ। उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरेर खोजी भइरहेको छ। पौडेलको राहदानी समेत ‘ब्ल्याकलिस्ट’ मा राखिएको छ।

‘अध्यागमनलाई जानकारी दिएका छौं। कतै यात्रा गरेको देखिए नियन्त्रणमा लिनुपर्ने भनेर पत्राचार गरिएको छ,’ विभागका एक अनुसन्धान अधिकृतले भने।

तर, राजस्वको अनुसन्धानमा ठूलो संख्यामा कसरी विदेशी मुद्रा जम्मा गरियो भन्ने खुल्न सकेको छैन। पक्राउ परेका लामाले जम्मा भइसकेपछि मात्र लोड गरेको अवस्था जानकारी भएकाले त्यसअघिको अवस्था खुलाउन सकेनन्।

त्यस्तै, अन्य अनुसन्धानको पाटोबाट पनि खुलेन। अर्का अभियुक्त पौडेल समातिएपछि त्यसको उत्तर आउनेमा विभागका कर्मचारी आशावादी छन्। अहिलेसम्मको अनुसन्धानमा केरुङबाट रकम छिराएर सुन ल्याउने योजना भएको देखिएको छ। विदेशी मुद्रा टोखा नगरपालिका-१० मा रहेको सिन्धु मेटेरियल नाम गरेको गोदाममा लोड गरेको देखिएको छ। सिन्धु रङको कारोबार गर्ने गोदाम हो। जसको स्वामित्व पौडेलमा नै रहेको देखिन्छ।

राजस्व अनुसन्धान विभागका अधिकारीले चैत ४ गते साँझ ६ बजेदेखि ९ बजेसम्मको सीसीटीभी क्यामराका फुटेज हेरेका थिए। त्यसमा ट्रक गोदामबाट निस्किएको देखिएको छ। घटनास्थलमा स्वयम् नारायण पौडेल पनि रहेको खुलेको छ।

‘उनी त्यहीँ उपस्थित छन् भन्ने देखिन्छ। रोडमा रहेको क्यामरा हेर्दा ट्रक आएको गएको देखिएको छ,’ एक अनुसन्धान अधिकृतले सुनाए।

कुसाङ र पौडेलको सोही दिन ८/१० पटक फोनमा कुराकानी भएको देखिएको छ। अन्तिम पटक पनि कुसाङलाई पौडेलले नै फोन गरेका थिए।

विभागले बुझाएको अभियोग पत्रमा अनुसन्धानमा थप मानिसको संलग्नता खुलेमा वा आरोपीको बारेमा थप प्रमाण जुटेमा अनुसन्धान गर्ने बाटो खुल्ला राखिएको छ। त्यस्तै विभागले नारायण पौडेलको राजस्व छली, फर्महरूको बारेमा पनि छुटै अनुसन्धान गरिरहेको छ।

हाललाई पौडेलको जग्गा जमिन, बैंक खाता, फर्महरूको कारोबार समेत रोक्का गरिएको छ।