सिन्धुपाल्चोकमा बरामद २० लाखको भेप दोर्जे लामाको, पक्राउ पुर्जी लिएर खोज्दै प्रहरी

बिजमाण्डू
२०८२ बैशाख २ गते १४:५२ | Apr 15, 2025
सिन्धुपाल्चोकमा बरामद २० लाखको भेप दोर्जे लामाको, पक्राउ पुर्जी लिएर खोज्दै प्रहरी
प्रतीकात्मक तस्वीर ।


काठमाडौं। चैतको पहिलो साता सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाको खोर्सानेबाट बरामद भएको भेप कसको थियो भन्ने खुलेको छ। राजस्व अनुसन्धान विभागको अनुसन्धानमा उक्त भेप सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ का दोर्जे लामाको भएको खुलेको हो।

Tata
GBIME
NLIC

विभागले प्रहरीको सहयोगमा लामाविरुद्ध अदालतबाट पक्राउ पुर्जीसमेत लिएको छ। तर, उनी अहिलेसम्म पक्राउ परेका छैनन्। ‘त्यो भेप लामाको हो भन्ने खुल्यो। पक्राउ पुर्जी जारी भइसकेको छ,’ विभागका एक अनुसन्धान अधिकृतले भने।

विभागका कर्मचारीले भेप बरामद भएको केही दिनमा लामासँग उपस्थित हुन भन्दै सम्पर्क गरेको थियो। तर, त्यसपछि उनी उपस्थित नभएर फरार छन्।

चैत ६ गते तातोपानीबाट काठमाडौं आउँदै गरेको कन्टेनरभित्र ७ सय ४० थान भेप बरामद भएको थियो। जसको बजार मूल्य २० लाखभन्दा बढी पर्न आउँछ। प्रहरीले कन्टेनरका चालक सिन्धुपाल्चोक घर भएका प्रवीण खत्रीलाई नियन्त्रणमा लिएको थियो।

प्रतिनिधिसभामा प्रतिनिधि सभाको बिहीबारकै बैठकमा सांसद गंगा कार्की र मनीष झाले सिन्धुपाल्चोकमा समातिएको भेप भाटभटेनी सुपरमार्केटको भएको आरोप लगाएका थिए। तर, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले विज्ञप्ति निकाल्दै भेप भाटभटेनीको नभएको बताएका थिए।

विभागको हालसम्मको अनुसन्धानमा पनि भेप भाटभटेनीको भएको खुल्दैन। पक्राउ परेका चालक खत्री धरौटी रकम बुझाउन नसकेपछि अहिले थुनामा छन्।