
काठमाडौं। चैत १५ गते राजावादी प्रदर्शनका ‘कमाण्डर’ दुर्गा प्रसाईं झन्डै दुई सातापछि प्रहरी नियन्त्रणमा आएका छन्।
दुई जनाको ज्यान जाने गरि तीनकुनेमा भएको अराजक प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि फरार भएका प्रसाईं भारतमा रहेको खुलेको हो।
दुर्गा प्रसाईं १५ गते तीनकुनेबाट भागेर सुरुमा इमाडोलमा रहेको पुस्कर खतिवडाको घरमा पुगेका थिए। त्यहाँबाट ५ बजेर २५ मिनेटमा उनी निस्किएका थिए। त्यसपछि भक्तपुरको नाला हुँदै धुलिखेलको बाटोबाट झापा लागेको अनुसन्धानमा खुलेको छ। उनी ८ बजेर ५० मिनेटमा धुलिखेल पुगेका थिए। त्यसपछि बिहान सवा ५ बजेतिर उनी झापााको बिर्तामोडमा रहेको बिएन्डसी अस्पताल पगेको थिए। त्यहाँबाट उनले काठमाडौंबाट आएको जीप र चालकलाई फर्काएका थिए।
प्रसाईं भागेको रुट ट्रयाक गर्दै प्रहरी झापामा पुगेको थियो। प्रहरीले प्रसाईं चढेको गाडी इटहरीबाट नियन्त्रणमा लिएको थियो।
चैत १६ गते बिहानको साढे ९ बजेतिर उनी काकडभिट्टा नाका हुँदै भारतको सिलगुडी पुगेको खुलेको छ। सिलगुडीबाट उनी बस्ती भन्ने ठाउँमा पुगेका थिए। असाम हुँदै उनी दिल्लीसम्म पुगेको खुलेको छ। उनी दिल्लीपछि फेरि विभिन्न ठाउँमा पुगेका थिए।
प्रहरीले भने प्रसाईं भारतमै रहेको भन्दै खोजी सुरु गरेको थियो। उनी बसेको ठाउँहरु समेत नेपाल प्रहरीले लोकेट गरेको थियो।
प्रसाईंले भने आफू नभागेको भन्दै भिडियो सामाजिक संजालमा पोस्ट गरेका थिए। उनले आफू नेपालमा नै रहेको बताएका थिए।
तर, उनले भागेपछि पोस्ट गरेको पहिलो भिडियो असाममा पुगेर बनाएको अनुसन्धानमा खुलेको छ। नेपाल प्रहरीले उनले भिडियो बनाएको मन्दिर समेत लोकेट गरेको थियो। प्रसाईंले दोस्रो भिडियो बनाउँदासम्म प्रहरीले उनी कहाँ कहाँ पुगे भनेर लोकेट गरिसकेको थियो।
उनी भारतको असाममा एकजना स्थानीय नेताको घरमा बसेको समेत खुलेको छ। प्रहरीले प्रसाईंलाई पक्राउ गरेर नेपाल ल्याउने तयारी गरिसकेको छ। यसबारेमा प्रहरीले गृह मन्त्रालयमा ब्रिफिङसमेत गरिसकेको छ।
प्रसाईंको सचिवालयले भने भारतको असाममा उनले आत्मसमर्पण गरेको दाबी गरिरहेको छ। यता नेपाल प्रहरीले पनि उनी पक्राउ परेको औपचारीक जानकारी भने दिएको छैन। भारतमा नै उनी पक्राउ परेको र कानुनी रुपमा सुपुर्दगी पूरा नहुँदा प्रहरीले उनलाई भारतमा नियन्त्रणामा लिएकोबारेमा अहिले नै कुनै प्रतिक्रिया नदिएको हो।
तीनकुनेमा भएको प्रदर्शनका क्रममा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शम्शेर राणा लगायतलाई सोही रात पक्राउ गरेको थियो।
यस्तै, प्रहरीले प्रसाईंका निकट मानिएका मनिष जंग शाही र शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कालाई पनि पक्राउ गरिसकेको छ। प्रदर्शनमा संलग्नमध्ये अहिलेसम्म करिब २०० जना पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता एसपी अपीलराज बोहराले बताएका छन्। ती मध्ये केहीलाई भने सोधपुछ गरेर छाडिएको छ।
पक्राउ परेकामध्ये सबैको नाम भने प्रहरीले सार्वजनिक गरिसकेको छैन। उनीहरूमाथि कारबाहीका लागि कसुरअनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।
प्रहरीले प्रदर्शनको क्रममा खिचिएको भिडियो र फोटो हेर्दै तोडफोड, आगजनी तथा लुटपाटमा संलग्नको खोजी गर्दै पक्राउ गरिरहेको छ।
तीनकुनेमा भएको घटनामा कीर्तिपुर-४ का २९ वर्षीय सविन महर्जन र एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। रजकको मृत्यु राजावादीहरुले निजी घरमा आगो लगाउँदा भएको थियो।
अराजक भीडले जडीबुटी चोकस्थित सरकारी कम्पनी जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र, समाजवादी पार्टी कार्यालय, बालकुमारीबाट काठमाडौंतर्फ आउने करिडोर बाटो, बानेश्वर पुल पारिपट्टि, एयरपोर्टको भन्सार कार्यालय, सिनामंगलको इन्द्रेणी सहकारीको कार्यालय भवन, रोयल रेस्टुरेन्ट, एरोम्याक्सको कार्यालय र कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड, आगजनी तथा लुटपाट गरेको थियो।
यस्तै, कान्तिपुर मिडिया हाउस, केएमसी अस्पताल, सिनामंगलमा डीआईए अगाडि बन्दै रहेको भवन, सिनामंगलमा नेपाल प्रहरीको दुईटा सीसीटीभी, सिनामंगल, भत्केको पुलको प्रहरी बिट, कोटेश्वरका प्रहरी प्रभाग र ट्राफिक प्रहरी प्रभाग तथा बागमती करिडोरमा रहेको समाजवादी पार्टीको कार्यालयमा तोडफोड भएको थियो।