तानसेन महोत्सव हुरीबतासले बिथोलियो, दर्शकबीच भागदौड, क्षतिको विवरण संकलन गरिँदै

बिजमाण्डू
२०८१ चैत्र २८ गते १४:४१ | Apr 10, 2025
तानसेन महोत्सव हुरीबतासले बिथोलियो, दर्शकबीच भागदौड, क्षतिको विवरण संकलन गरिँदै


तानसेन (पाल्पा)। पाल्पामा जारी दोस्रो तानसेन महोत्सव हुरीबतासले प्रभावित भएको छ। कृषि, रोजगार, पर्यटन तथा व्यापारलाई लक्षित गरी गत शुक्रबारदेखि सञ्चालन भइरहेको महोत्सव बिहीबार दिउँसोको वर्षा र हुरीबतासले प्रभावित भएको हो।

Tata
GBIME
NLIC

कार्यक्रमको तयारी भइरहेका बेला अचानक वर्षा र हुरीबतास चलेपछि महोत्सवमा भागदौड मच्चिएको थियो। असिनासहित वर्षा भएपछि महोत्सव हेर्न भेला भएका दर्शकबीच भागदौड मच्चिएको थियो। वर्षाका कारण सांस्कृतिक कार्यक्रम स्थगन गरी आज सञ्चालन गर्ने तयारीमा आयोजक थिए।

ठूलो हुरीबतासले स्टेज, स्टल, प्रवेशद्वार, घेरबारा लगायतमा क्षति पुगेको छ। यसले महोत्सव नै अनिश्चित बनेको छ। विभिन्न स्टलका सामानसमेत हावाले उडाएको व्यापारीले बताएका छन्। हुरीबतासले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वर्षा र हावाहुरीका कारण महोत्सवस्थलमा ठूलो क्षति पुगेकाले पुनः नयाँ संरचना निर्माण गरेर मात्र महोत्सव सञ्चालन गरिने पाल्पा व्यापार संघका अध्यक्ष विष्णुबहादुर कार्कीले बताए। उनका अनुसार क्षतिको यकिन विवरण संकलन भइरहेको छ।

तानसेन नगरपालिकाको मुख्य आयोजना, पाल्पा व्यापार संघको आयोजना, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश, घरेलु तथा साना उद्योग पाल्पाको सहआयोजना भएको महोत्सवको व्यवस्थापन एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रालि भरतपुरले गरेको थियो।

कृषि, उत्पादन, लघु तथा घरेलु प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि, अटोमोबाइल, स्वास्थ, पर्यटन तथा अन्य स्वदेशी उत्पादन र बालउद्यान साथै होटल तथा रेष्टुरेण्टलगायतका ३ सय हाराहारी स्टल थिए। महोत्सवको आर्कषणका रूपमा पहिलोपटक फिस टनेल, औद्योगिक वस्तु तथा सेवाहरूको प्रदर्शनी, लघुउद्यमी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रम, कृषि तथा स्थानीय उत्पादनको बजारीकरणको कार्यक्रम राखिएको थियो। रासस