गाडीका ठूला ब्रान्डले ल्याएनन् नयाँ वर्ष लक्षित अफर, बाइकमा भने ग्राहक तान्न होडबाजी

शुक्र गिरी
२०८१ चैत्र २८ गते १२:५८ | Apr 10, 2025
गाडीका ठूला ब्रान्डले ल्याएनन् नयाँ वर्ष लक्षित अफर, बाइकमा भने ग्राहक तान्न होडबाजी


काठमाडौं। नयाँ वर्षलाई सवारीसाधनको बिक्री बढाउने अवसरको रुपमा सदुपयोग गर्न अफर ल्याउने गरेका अटो व्यवसायीले यसपालि ग्राहकलाई आकर्षित गर्ने योजना ल्याउन चासो नदिएको पाइएको छ।

Tata
GBIME
NLIC

खासगरी गाडीका ठूला ब्रान्डले नयाँ वर्ष लक्षित अफर ल्याउन चासो नदिएका हुन्। बीवाइडी, डिपल, महिन्द्रा, सुजुकी, ओमोडा, किया लगायत गाडी बिक्रेताले नयाँ वर्ष लक्षित अफर ल्याएका छैनन्। टाटा, एमजी लगायत ब्राण्डले भने भरे भोलिसम्म अफर ल्याउने बताएका छन्।

गाडीका धेरैजसो ठूला ब्राण्डले रुची नदेखाएपनि खासगरी बाइक बिक्रेताहरुमा भने ग्राहक तान्न होडबाजी चलेको छ। गाडीका ठूला ब्राण्डमध्येमा पर्ने हुण्डाइले पनि केही दिनअघि नै अफर ल्याइसकेको छ।

अटो व्यवसायीहरुले नयाँ वर्षलाई लक्षित गर्दै मूल्यमा छुटसँगै विभिन्न सुविधासहितका योजना ल्याएका छन्।

विभिन्न ब्रान्डका आधिकारिक वितरकहरूले आफ्ना सवारीसाधनको बिक्री बढाउन नगद छुट, उपहार, सहज फाइनान्सिङ लगायत अफर ल्याएका छन्। केही निश्चित मोडलका बाइक, स्कुटर र गाडीमा नगद छुटको अफर ल्याइएको छ।

सवारीसाधन खरिदको अफरमा बिक्रेता कम्पनीहरुले हेल्मेट, वासिङ मेसिन, फ्लोर म्याट, टिभी, एक्सचेन्ज भ्यालुएसन, शून्य प्रतिशत ब्याजदर, विदेश भ्रमण लगायत उपहार र सुविधा समावेश गरेका छन्।

डाउन पेमेन्टमा गाडी किन्न चाहनेलाई बिक्रेताहरुले सहज फाइनान्सिङको व्यवस्था गरेका छन्। राष्ट्र बैंकले सवारीसाधन खरिदमा ६० प्रतिशतभन्दा बढी ऋण नदिने नीति लिएपनि व्यवसायीहरुले डाउन पेमेन्टलाई २० प्रतिशत नै कायम राखेर अफर ल्याएका छन्।

यस्तै एक्सचेन्ज अफर पनि ल्याइएको छ। पुरानो सवारीसँग साटेर नयाँ लैजान चाहने ग्राहकहरूका लागि ५ लाखसम्म अतिरिक्त भ्यालुएसन प्रदान गर्ने कम्पनीहरुको अफर छ।

वारेन्टी र सर्भिसिङमा पनि केही छुटको अफर ल्याइएको छ। केही कम्पनीले विस्तारित वारेन्टी वा निश्चित अवधिका लागि निःशुल्क सर्भिसिङ जस्ता सुविधा प्रदान गर्ने प्याकेज ल्याएका छन्। अफर ल्याएर बिक्री बढाउन बिक्रेताहरुलाई उत्पादक कम्पनीले सघाउने गरेका छन्।

कुन कम्पनीको अफर कस्तो?

हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ६ लाखसम्म नगद छुटको अफर ल्याएको छ।

कम्पनीले आकर्षक छुट दिने गरी ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाइसँग’ योजना ल्याएको हो। यो योजनामा ग्राहकले १ वर्षसम्मको बीमा र सवारी कर तिर्नु पर्दैन। साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने कम्पनीले जनाएको छ।
हुन्डाई गाडीमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र इभी गाडीको ब्याट्रीमा ८ वर्ष वारेन्टी छ।

नामी गाडी किन्न चाहनेहरुका लागि पनि विभिन्न अफर छ। डङफेङ नामी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले अतिरिक्त १ लाख रुपैयाँसम्म नगद फाइदा लिन सकिने अफर ल्याएको छ। साथै ८० प्रतिशत फाइनान्सको सुविधा रहेको कम्पनीले जनाएको छ। कम्पनीको यो अफरका कारण नामी किन्न ६ लाख रुपैयाँ डाउन पेमेन्ट गरे पुग्छ।

गाडी हात पार्नका लागि ग्राहकले धेरै दिन कुर्नु गर्दैन। फाइनान्स गरेको दुई दिनमा डेलिभरी दिने योजना कम्पनीहरुले बनाएका छन्।

नयाँ वर्षका लागि जिकर गाडी २० प्रतिशत डाउन पेमेन्टमा किन्ने अफर ल्याइएको छ। जिकर गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले ८.०५ प्रतिशत ब्याजदरमा ८० प्रतिशत फाइनान्सिङको अफर ल्याएको हो।

टाटाको गाडी बिक्रेता सिप्रदी ट्रेडर्सले शुक्रबारदेखि लागू हुने गरी नयाो वर्ष लक्षित अफर ल्याउन लागेको छ।

एमजी गाडीको बिक्रेता पारामाउन्ट मोटर्सले पनि केही ढिलाइ भएपनि अफर ल्याउने बताएको छ।

पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षत्रीले गृहकार्य गर्न समय लागेकाले अफर ल्याउन ढिला भएको बताए। ‘गाडी बिक्रीका लागि नयाँ वर्ष पनि अवसर हो। त्यसैले अफर नल्याउने कुरै भएन। तर यसपालि वर्कआउट गर्दागर्दै ढिला भएको हो,’ उनले भने, ‘ग्राहकलाई के कति छुट र सुविधा दिने भन्नेमा छलफल टुंगिन बाँकी छ। भरे भोलिसम्म अफर ल्याउँछौं।’

दुई पाङ्ग्रेमा १ लाखसम्म नगद छुट

दुई पाङ्ग्रेतर्फ चिनियाँ बाइक उत्पादक कम्पनी जोनसेनले नयाँ वर्ष लक्षित अफर ल्याएको छ। जोनसेनको नेपालका लागि आधिकारिक बिक्रेता स्यामुक्यापु ट्रेडिङले बाइकमा अफरोड अफर भनेर १५ हजारसम्म नगद छुट दिने योजना ल्याएको हो।

बजाजमा १ लाखसम्म जित्न सकिने अफर ल्याइएको छ। बजाजको नेपालका लागि आधिकारिक बिक्रेता हशंराज एण्ड हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्षको अवसर पारेर ‘मिटर रोक्नुस्, क्यास जित्नुस्’ अफर ल्याएको छ।

भारतीय दुई पाङ्ग्रे निर्माता हिरोले नयाँ वर्षलाई लक्षित गरी ‘नयाँ वर्ष, नयाँ हिरो’ योजना ल्याएको छ।

हिरोको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले बाइक तथा स्कुटर खरिदमा ७ हजार नगद छुट, साप्ताहिक रुपमा लक्की ड्रमार्फत २५ हजार नगद र सजिलो फाइनान्सिङ सुविधा ल्याएको छ।

सुजुकी ब्रान्डले ८ हजारदेखि १ लाखसम्म नगद जित्न सक्ने अफर ल्याएको छ। सुजुकीको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले ‘सुजुकी नव वर्ष’का नाममा एसएमएस गर्दा ८ हजारदेखि १ लाख रुपैयाँसम्म नगद जित्न सकिने अफर ल्याएको हो।

अर्को पुरानो जुनसुकै बाइक तथा स्कुटरसँग सुजुकीका नयाँ बाइक तथा स्कुटर साट्न सकिने ‘एक्सचेन्ज भ्यालुएसन’ योजना पनि ल्याइएको छ। सुजुकीका नयाँ बाइक तथा स्कुटर किन्न चाहने ग्राहकले फाइनान्सिङको सुविधा पनि पाउनेछन्।

यामाहाका बाइकमा १ लाख रुपैयाँसम्म जित्न सकिने अफर ल्याइएको छ। यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले ल्याएको नयाँ वर्ष अफरमा ग्राहकले १ हजारदेखि १ लाख रुपैयाँसम्म नगद जित्ने सक्नेछन्। यस्तै शुन्य प्रतिशत ब्याजदरमा बाइक खरिद गर्न सकिनेछ। अन द स्पट एक्सचेन्ज अफर पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।