
काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्ष ८ महिनामा सेयर धितोमा २८ अर्ब ४० करोड ७८ लाख रुपैयाँ ऋण लगानी गरेका छन्।
बैंकहरुले ८ महिनामा सेयर धितो कर्जा ३१.५ प्रतिशतले बढाएका हुन्। बैंकहरुको सेयर धितो कर्जा १ खर्ब १८ अर्ब ५० करोड ११ लाख रुपैयाँ पुगेको छ। असार मसान्तसम्म यस्तो कर्जा ९० अर्ब ९ करोड रुपैयाँ थियो।
ठूला लगानीकर्ताले बैंकबाट ऋण लिएर सेयर बजारमा आक्रामक रुपमा लगानी गरेका छन्। १ करोडभन्दा बढीको सेयर धितो कर्जा ४१.५ प्रतिशतले बढेको छ। ८ महिनामा ठूला लगानीकर्ताले बैंकबाट ऋण लिएर २३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका छन्।
असार मसान्तसम्म ५५ अर्ब ९३ करोड रुपैयाँ रहेको १ करोडभन्दा बढीको सेयर धितो कर्जा फागुनसम्म आइपुग्दा ७९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।
यो वर्ष ८ महिनामा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर धितो कर्जा २ अर्ब ३५ करोड रुपैयाँले बढेर १४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।
यस्तै, २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा १४ र २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ११.४ प्रतिशतले बढेको छ।