काठमाडौंमा घरजग्गा कारोबार तीन वर्षदेखि स्थिर, साढे ३ करोडमाथिका प्रोपर्टी किन्ने नै भएनन्

उन्नत सापकोटा
२०८१ चैत्र २७ गते १६:२६ | Apr 9, 2025
काठमाडौंमा घरजग्गा कारोबार तीन वर्षदेखि स्थिर, साढे ३ करोडमाथिका प्रोपर्टी किन्ने नै भएनन्
इमाडोल क्षेत्र


काठमाडौं। घरजग्गा कारोबारी मीनबहादुर खत्री अचेल केही जाँगरिला देखिन्छन्। काठमाडौंका प्राइम लोकेसन अनामनगर, बानेश्वर, मीनभवन क्षेत्रमा घरजग्गा किन्ने र बेच्नेलाई मिलन गराउने खत्री अचेल इमाडोल र बुढानीलकण्ठमा बढी आउजाउ गर्छन्।

Tata
GBIME
NLIC

६ महिनायता काठमाडौंका महँगाभन्दा आवासीय क्षेत्रमा उनको दौडधूप बढी हुन्छ। उनी साढे ३ करोड रुपैयाँसम्म पर्ने झण्डै २५-३० वटा प्रोपर्टीको पोर्टफोलियो बोकेर सम्भावित ग्राहकसम्म पुग्छन्।

ठूला प्रोपर्टी बेच्न गाह्रो परेसँगै उनी अचेल साना र अफोर्डेबल घरजग्गा मात्रै आफ्नो पोर्टफोलियोमा राख्छन्। उनले यही सेग्मेन्टका ग्राहक खोज्न समय खर्चिने गरेका छन्।

उनले फागुनयता केही ग्राहकलाई बुढानीलकण्ठ क्षेत्रका भंगाल र पासिकोटका घर देखाए। घर अढाइ करोडदेखि ५ करोडसम्मका थिए। तर, ती ग्राहकले साढे तीन करोडभन्दा बढीका घर हेर्नै मानेनन्।

‘काठमाडौंमा घरजग्गा किन्न खोज्ने ग्राहक बढ्न सकेका छैनन्। जतिले किन्न खोजेका छन्, उनीहरुको रोजाइमा १ करोडदेखि साढे ३ करोडसम्मको प्रोपर्टी देखिन्छ,’ खत्रीले भने, ‘दुई महिना डुलाएपछि एक ग्राहकले पासिकोटमा ४ आनामा बनेको घर २ करोड ९० लाखमा किने।’

उनले ती ग्राहकलाई भंगालमा थप २ वटा घर देखाएका थिए। भंगालका घरको मूल्य ३ करोड ३० लाख र ३ करोड ६० लाख थियो। ती ग्राहकले अन्तिममा पासिकोटको घर किने।

बुढानीलकण्ठ क्षेत्र

उनले इमाडोलको ओचु हाइटमा अर्को घर बिक्री गराउँदै छन्। घरधनीले ३ करोड २५ लाख रुपैयाँ मागेकामा खत्रीले फेला पारेका ग्राहक तीन करोडभन्दा बढी दिन तयार भएका छैनन्। ‘४ आनामा बनेको प्रोपर्टी घरधनीले ३ करोड २५ लाखमा बिक्रीमा राखेका छन्। तर क्लाइन्टले ३ करोडभन्दा कममा मिलाउन भनिरहेका छन्,’ खत्रीले भने।

काठमाडौं उपत्यकामा तीन वर्षयता घरजग्गा कारोबार स्थिर रहेकामा २ देखि ३ करोड ५० लाख रुपैयाँका घर सबैभन्दा बढी ग्राहकहरुको खोजीमा छन्।

ब्याजदर सस्तिएर बैंक तथा वित्तीय संस्थाहरुले आकर्षक होम लोनका स्कीम ल्याउँदा काठमाडौंका आवासीय लोकेसनहरुमा साढे ३ करोड रुपैयाँसम्मका प्रोपर्टी किन्न चाहनेले सोधीखोजी गर्ने क्रम बढ्दै गएको घरजग्ग्गा व्यवसायीहरुको भनाइ छ।

रियल इस्टेट एजेन्ट लालपूर्जा नेपालका प्रमुख कार्यकारी अधिकृत सन्जय नेपालले काठमाडौंमा घर किन्न सोधीखोजी गर्ने अधिकांशले साढे ३ करोड भन्दा बढी हाल्न नचाहेको बताए। उनका अनुसार जग्गा खोज्नेहरुमध्ये धेरैको आँखा ३ देखि ५ आनामा छ।

‘काठमाडौंमा घर किन्न चाहनेहरु २ देखि साढे ३ करोड रुपैयाँ हाल्न तयार देखिन्छन्। जग्गाको हकमा ३ देखि ५ आनासम्मका प्लटको माग बढी छ। १ देखि २ करोड रुपैयाँसम्मको बजेटभित्र जग्गा खोज्ने बढी छन्,’ नेपालले बिजमाण्डूसँग भने।

टोखा क्षेत्र

व्यवसायीहरुका अनुसार कारोबार बढ्न नसकेको अवस्थामा काठमाडौं उपत्यकामा प्रोपर्टीको मूल्य २० देखि ३० प्रतिशतसम्म घटेको छ। यसको फाइदा उठाउन खोज्नेहरुको रोजाइमा कम मूल्यका घरजग्गा परिरहेको नेपालले बताए।

घरजग्गा खरिदका लागि बुढानीलकण्ठ, काँडाघारी, पेप्सीकोला, सीतापाइला, रानीवन, इमाडोल, धापाखेल, थिमीलगायत स्थान बढी नै ‘बज’ भइरहेका साइटमा पर्छन्। घरजग्गा व्यवसायीकाअनुसार दरबारमार्ग, कमलादी, नयाँ बानेश्वर, सुन्धारालगायत प्रिमियम ठाउँहरुमा प्रोपर्टी किनबेच नगन्य छ।

घरजग्गा व्यवसायी ओमबहादुर घर्तीले पनि साढे तीन करोड रुपैयाँभन्दा बढीको घर किन्न चाहने ग्राहक केही महिनायता फेला पारेका छैनन्।

‘मकहाँ जति ग्राहक आइपुग्ने गरेका छन्, उनीहरु सबैजसोले २ देखि ३ करोड रुपैयाँसम्मको घर किन्न चाहेको बताउने गरेका छन्। घरमा साढे तीन करोडभन्दा धेरै पैसा हाल्न चाहने ग्राहक नभेट्टाएको धेरै महिना भइसक्यो,’ घर्तीले भने, ‘जग्गा मात्रै किन्न चाहनेहरु प्रति आना १५ देखि ३० लाख रुपैयाँसम्म हाल्न रेडि देखिन्छन्। अधिकांशले ४ आनाभन्दा बढी जग्गा जतिसुकै राम्रो हुँदा पनि किन्न मानिरहेका छैनन्।’

भक्तपुरको राधेराधे क्षेत्र

घरजग्गा मात्र होइन, अपार्टमेन्टको व्यापारको अवस्था पनि फरक छैन। अपार्टमेन्ट किन्न चाहनेमध्ये धेरैजसोले २ करोड रुपैयाँभन्दा बढी हाल्न नमान्ने व्यवसायीहरुले बताए। ‘नयाँ अपार्टमेन्टको मूल्य ६ करोडसम्म छ। तर, ग्राहकले २ करोडसम्मका अपार्टमेन्ट खोजिरहेका छन्,’ नेपालले भने।

हात्तीवनको मेरो सिटी अपार्टमेन्टमा ४०० वर्गफिटको एक बेडरुम युनिट जम्मा ४५ लाखमा बिक्रीमा राखिएको छ। यस्तै पेप्सीकोलास्थित सनसिटीमा ८५९ वर्गफिटको तीन बेडरुम युनिट १ करोड ३० लाखमा बिक्रीमा राखिएको छ। अपार्टमेन्टधनीले उल्लेखित मूल्यमा पनि नेगोसिएसन गर्ने बताएका छन्।

३ वर्षदेखि काठमाडौंमा स्थिर कारोबार

सरकारी तथ्यांकले तीन वर्षयता काठमाडौं, भक्तपुर र ललितपुरमा घरजग्गा कारोबार स्थिर रहेको देखाउँछ।

सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८०,  २०८०/८१ र २०८१/८२ को आठ महिनामा घरजग्गा किनबेच स्थिर देखिन्छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार तीन वर्षमा लिखत पारित २८ हजार हाराहारी छ।

कलंकी, भक्तपुर, चाबहिल, लगनखेल, साँखु, टोखा, मनमैजु र डिल्लीबजार मालपोत कार्यालयबाट २०७९/८० को आठ महिनामा २८ हजार ३७३, २०८०/८१ को सोही अवधिमा २८ हजार १७० र २०८१/८२ को सोही अवधिमा सर्वाधिक २८ हजा ६६६ लिखत पारित भएको तथ्यांक छ।

भक्तपुर र लगनखेल मालपोतले तीनै वर्ष ६ हजारभन्दा बढी लिखत पारित गराएका छन्।