
काठमाडौं। पछिल्लो समय ग्राहकहरुले विद्युतीय सवारी साधन इभीको स्पेयर पार्ट्सको मूल्य धेरै महँगो भएको भन्दै गुनासो गरिरहेका छन्। जसले गर्दा व्यवसायीहरु यति खेर आफ्नो ब्रान्डको इभीको पार्ट्स सस्तो भएको दाबी गर्न मूल्य सार्वजनिक गर्न थालेका छन्।
मंगलबार कायीको नेपालका लागि आधिकारिक बिक्रेता जिओ अटोमोबाइलले आफ्नो गाडीमा प्रयोग हुने स्पेयर पार्ट्सको मूल्य सार्वजनिक गरेको छ। जसमा हरेक आइटमको मूल्यहरु निकै कम रहेको दाबी गरेको छ।
कायीले प्रतिस्पर्धी मूल्यमा कायी एक्सथ्री प्रो इभीको मर्मत गरिदिने जनाएको छ। उक्त अफर ल्याउँदै कम्पनीले अब उक्त अफर आएसँगै उपभोक्ताले चिन्ता गर्नुपर्ने समय सकिएको दाबी गरेको छ। कायीले उच्च गुणस्तरीय, विश्वसनीय र तुलनात्मक रुपमा कम मूल्यमा स्पेयर पार्टस उपलब्ध गराउने जनाएको छ। एक्सथ्री प्रो इभीमा लाग्ने मुख्य ११ पाटपुर्जाको मूल्य नै सार्वजनिक गरेको छ।
कम्पनीले मूल्य सार्वजनिक गर्दै धेरै मानिसलाई विद्युतीय कारको मर्मत र स्पेयर पार्टसको मूल्य महँगो लागिरहेको भन्ने पछिल्लो समय सुनिएको बताएको छ। तर त्यस्तो वातावरण नरहेको देखाउन कम्पनीले पार्ट्सको मूल्य नै सार्वजनिक गरेको हो।
यस्तै हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पनि क्रेटा इभीमा प्रयोग हुने स्पेयर पार्ट्सको मूल्य केही दिनअघि सार्वजनिक गरिसकेको छ।