
काठमाडौं। उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका २० वटा दुई पाङ्ग्रे सवारीसाधन प्रहरीले खोजतलास गरि फेला पारेर सम्बद्ध सवारीधनीहरुलाई फिर्ता दिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार १३ मोटरसाइकल र ७ वटा स्कुटर फिर्ता दिएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आएका निवेदनका आधारमा खोजी गर्दा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा जगाती, चुनदेवी, बानेश्वर, गौरीघाट, मंगलबजार, इमाडोल, लुभु, सोह्रखुट्टे, कंलकी, नयाँबसपार्क, बाफल, थली, नेपालटार र मुलपानी लगायतका ठाउँबाट फेला परेको प्रहरीले जनाएको छ।
मंगलबार बुझाइएका २० सहित गत साउनयता ३ सय ८६ वटा साधन सवारीधनीहरुले फिर्ता पाएका छन्। चोरीका ३७ वटा दुई पाङ्ग्रे साधनसहित उक्त कसुरमा संलग्न ५४ जनालाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा वृत्तमा पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
आर्थिक वर्ष २०७९/८० मा ४९९ र २०८०/८१ मा ४१७ वटा दुई पाङ्ग्रे साधन खोजतलास गरी फेला पारेर सवारीधनीलाई फिर्ता दिइएको ट्राफिक प्रहरीको तथ्यांक छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा तुरुन्तै जानकारी गराए वा निवेदन दिए खोजतलास छिटो हुन सक्छ।