
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपध्याक्ष शिवराज अधिकारिले चलिरहेको ‘ट्रेन्ड’को आधारमा मात्रै नीति बनाउन नहुने बताएका छन्।
आज नाडा अटोमोबाइल्स एशोसियन अफ नेपालले आयोजना गरेको नाडा अटो डाइलग २०८१ अन्तर्गत ‘अटोमोबाइलको क्षेत्रमा दीर्घकालीन तथा स्थिर नीतिहरु किन आवश्यक छ?’ शीषर्कको सेसनमा दीर्घकालीन रणनीतिमा स्थिर नीति निर्माण हुनुपर्नेमा जोड दिएका हुन्।
‘पोलिसी भन्ने कुरा अहिले भइरहेको ट्रेन्डमा जानु हुँदैन। देश र हाम्रो अवश्यकता अनुसार स्थिर नीति बनाउन जरुरी छ। तर, ट्रेन्ड वा हुइममा चलेर नीति बनायौं भने त्यस्तो खालको करको व्यवस्था गर्दा कसैलाई फाइदा हुन्छ भने केहीलाई बेफाइदा हुन्छ। हामीले बनाएको २०१७ तिरको नीति अहिले कसरी काम गरिरहेको छ भन्ने हेर्नुपर्छ। त्यसले अहिले स्थिर नीति कतिको काम गरिरहेको छ भन्ने कुरा क्लियर हुन्छ,’ उनले भने।
यस्तै उनले आगामी दिनमा कसरी नीति बनाउन अगाडि बढ्ने भन्ने कुराको पनि प्रष्ट रुपरेखा बन्नुपर्ने बताएका छन्।
‘कहिले ८० प्रतिशत कहिले ६० प्रतिशत गर्ने भन्दा एउटा स्थिर रुपमा यो प्याटर्नमा जाने भन्ने कुरा किल्यर हुन जरुरी छ। स्थिर नीतिको आवश्यकता छ,’ उनले भने।
सो सेसनमा नेपाल बैंकर एशोसिएसनका सन्तोष कोइरालाले बैंकहरुले नेपालमा इभीको वातावरण बनाउन भूमिका खेलिरहेको बताए। हाल १२९ अर्ब रुपैयाँ बैंकहरुले सवारीसाधनको लागि ऋण दिइरहेको उनले जानकारी दिए।
उनको जोड भने इभीको इको सिस्टम निर्माणमा थियो।
‘राज्यको लगानी इभिको इको सिस्टममा भएको छैन। तर, नीजि क्षेत्रले केही गरेको देखिन्छ। इभीको लागि आवश्यक पर्ने जनशक्ति र प्राविधिक तयार छ वा छैन भन्ने कुराहरु छन्। हामी यहि कुराहरुको बैंकरले छलफल गरेर केन्द्रिय बैंकमा पनि सुझाव दिएका थियौं,’ उनले भने।
कोइरालाले हाल जसले पनि गाडी ल्याउने होड चलेको भन्दै यसले नागरिकले दु:ख पाउने अवस्था सिर्जना हुन सक्ने बताए।
‘यो बारेमा सरकारले केही व्यवस्था गर्ने योजनाहरु पनि छन। साथै ब्याट्री देखि इभिको वारेन्टी सकिएपछी के गर्ने भन्ने अन्योल छ। यसले पनि अहिले मान्छेहरु ढुक्क हुने अवस्था छैन,’ उनले भने, ‘राज्यले गहन रुपमा हेर्नुपर्छ भन्ने हाम्रो धारणा हो। ग्रीन फाइनान्सिङ्ले इभीलाई सहयोग पुर्याउनु स्वभाविक देखिन्छ तर त्यसका लागि नीति र सरकारको बाटो स्पष्टता हुनुपर्छ।’
उनले भविष्यमा गाडीको ब्याट्रीमा समस्या आउने सम्भावना धेरै रहेको भन्दै त्यसतर्फ पनि नीतिगत रुपमा ध्यान दिनुपर्ने बताए।
सो सेसनमा काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. बिम प्रसाद श्रेष्ठले इभ नेपालमा मात्र नभइ विश्वभर फैलिरहेको भन्दै नेपालमा त्यसका लागि पर्वाधार बनाउन चुनौती रहेको बताए।
‘यसका लागि आवश्यक प्राविधिक म्यानपावर उत्पादन गर्न शैक्षिक रुपमा नेपालमा पनि परिस्थिति सहज बन्दै गइरहेको छ। तर, हामी सँग त्यसका लागि पूर्वाधारको विकास नभएकाले चुनौती छ। जसले गर्दा व्यावहारिक अध्ययन गर्न कठिन छ,’ उनले भन।
उनले नेपालसँग कार्बन ट्रेडिङको प्रचुर अवसर रहेको भन्दै त्यसमा पनि काम गर्न सकिने बताए।
‘ब्याट्रीको लाइफ साइकलको बारेमा पनि सोच्न थाल्नु पर्छ। रिसाइकल गर्ने वा त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि अहिले योजनाहरु बनाउनेतर्फ लाग्न जरुरी भइसकेको छ,’ उनले भने।
उनले नयाँ प्राविधिसँग अघि बढ्न दक्ष जनशक्ति उत्पादनमै जोड दिनुपर्ने बताए। स्थिर नीतिका लागि तथ्यांकमा आधारित भएर अघि बढ्नुपर्ने उनको मत थियो।