पर्यटकीय गतिविधिमा विषाक्त वायुले ग्रहण, छुटका अफर ल्याउँदा पनि छैन अग्रिम बुकिङ

वसन्तराज उप्रेती
२०८१ चैत्र २५ गते २१:१९ | Apr 7, 2025
पर्यटकीय गतिविधिमा विषाक्त वायुले ग्रहण, छुटका अफर ल्याउँदा पनि छैन अग्रिम बुकिङ

काठमाडौं। नयाँ वर्षको मुखमा पर्यटकीय गतिविधिमा ग्रहण लागेको छ। आन्तरिक पर्यटकको चहलपहल हुने समयमा विषाक्त वायुले असर गरेको छ।

Tata
GBIME

विभिन्न पर्यटकीय गन्तव्यका होटलले नयाँ वर्षलाई लक्षित गरी विशेष छुटका योजना ल्याएकामा अग्रिम बुकिङ निराशजनक रहेको व्यवसायीले जनाएका छन्।

व्यवसायीहरुका अनुसार पोखरा, सौराहा, भैरहवा, नगरकोट, बर्दिया, खुम्बु लगायत विभिन्न पर्यटकीय गन्तव्यका होटलमा अकुपेन्सी ५० प्रतिशतभन्दा तल छ।

मार्च महिनाबाट सुरु हुने पर्यटकीय सिजनमा विदेशी पर्यटकको आगमन घटेको छ भने साथै आन्तरिक पर्यटकबाट पनि अग्रिम बुकिङका लागि इन्क्वाइरी निक्कै न्यून संख्यामा आएको व्यवसायीहरुले बताए।

‘अहिले विद्यालयमा धेरै बिदा र कर्पोरेट क्षेत्रमा फोर्स लिभ हुने समय हो। आन्तरिक पर्यटकलाई लक्षित गरेर हामीले विभिन्न प्याकेज ल्याएका छौं। तर, यसपालि विगतका वर्षमा जस्तो अकुपेन्सी छैन। बुकिङ पनि आइरहेको छैन,’ क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘मौसमी प्रतिकूलता यसको मुख्य कारण हो। विषाक्त वायुले घुमघाममा निस्किन चाहनेहरुलाई निरुत्साहित पारेको छ। भिजिबिलिटीमा समस्या छ। जसले उडानको टुंगो छैन।’

चितवनको मेघौलीस्थित राप्ती नदी किना

उनका अनुसार नयाँ वर्ष नजिकिएका कारण आन्तरिक पर्यटकको चहलपहल बढ्नुपर्नेमा केही दिनयता उल्टो घटेको छ। व्यवसायीहरुले होटलको अकुपेन्सी ७० प्रतिशतसम्म पुग्ने अनुमान गरेकामा अहिले ५० प्रतिशत पनि पुगेको छैन।

यतिखेर लुक्ला पर्यटकमय हुने समय हो। तर, विदेशी पर्यटकको संख्या घटेका कारण रामेछापबाट लुक्लामा उडान पोहोरको तुलनामा यतिखेर आधा घटेको छ।

काठमाडौंको मनमैजु क्षेत्र

चितवनको सौराहमा पनि पर्यटक निकै पातलो संख्यामा छन्। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटक अभावमा होटलको अकुपेन्सी ४० प्रतिशतभन्दा तल झरेको जानकारी दिए।

‘पोहोर यतिखेर जति विदेशी पर्यटक थिए, अहिले छैनन्,’ उनले भने, ‘नेपाली नयाँ वर्षमा विद्यालयहरु बन्दका कारण अभिभावकहरु बालबालिकासहित घुम्न निस्किने गरेकामा अहिले बुकिङ नै निक्कै कम छ। घुम्न आउनेहरु बढेका छैनन्।’

वार्षिक परीक्षा सकिएका कारण यतिखेर देशका सबैजसो विद्यालय बन्द छन्। बालबालिकाको परीक्षा सकिएपछि अभिभावकहरुमा नयाँ वर्षको मुख पारेर घुम्न निस्किने चलन रहेकामा यसपालि त्यसमा निक्कै कमी आएको देखिएको छ।

‘गत वर्षको तुलनामा यो वर्ष बाह्य र आन्तरिक पर्यटकको चहलपहल निकै कम छ,’ भट्टराईले भने, ‘अहिले वायु प्रदूषणले भरतपुरमा उडान नै प्रभावित छ। घुम्न निस्किने रमाइलोका लागि हो। तर, विषाक्त वायुका कारण निस्सासिने अवस्था छ। कहीं कतै केही देखिंदैन। त्यही भएर होला आन्तरिक पर्यटकबाट खासै बुकिङ आएको छैन।’

सिद्धार्थ होटल संघका अध्यक्ष सिपी श्रेष्ठले पनि नयाँ वर्षका बेला व्यापार बढाउने योजनामा रहेका व्यवसायीहरु यतिबेला निराश भएको बताए।

‘वायु प्रदूषणका कारण उडान समयमा हुन सकिरहेको छैन। अधिकांश उडान स्थगित भइरहेका छन्। सडकको अवस्था भनिसाध्य छैन। नारायणगढ बुटवल सडकअन्तर्गत दाउन्ने क्षेत्र पार गर्नै ५ घण्टाभन्दा बढी लाग्ने अवस्था रहेकामा २७ गतेदेखि समय तोकेर बन्द गरिंदैछ। यस्तो भएपछि पर्यटक किन घुमघाममा निस्किन्छन्?,’ श्रेष्ठले भने, ‘भैरहवा क्षेत्रमा अहिले अकुपेन्सी ५० प्रतिशतभन्दा कम छ। श्रीलंकाली पर्यटक अलिअलि छन् र होटल जेनतेन चलिरहेका छन्।’