नागढुंगा-नौबिसे सुरुङ मार्ग निर्माणमा व्यवधानप्रति सरकारको बेवास्ता, भौतिकमन्त्रीलाई हाइसञ्चो

बिजमाण्डू
२०८१ चैत्र २५ गते २०:२३ | Apr 7, 2025
नागढुंगा-नौबिसे सुरुङ मार्ग निर्माणमा व्यवधानप्रति सरकारको बेवास्ता, भौतिकमन्त्रीलाई हाइसञ्चो
भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल


काठमाडौं। नागढुंगा-नौबिसे सुरुङ मार्गको निर्माणमा स्थानीयले तीन सातादेखि गरिरहेको व्यवधानप्रति सरकारले बेवास्ता गरेको छ।

Tata
GBIME
NLIC

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित टुटिपाखाका स्थानीयले विभिन्न माग राखेर २३ दिनदेखि काम गर्न नदिएकामा समस्या समाधानका लागि सरकारले पहल गरेको देखिएको छैन।

स्थानीयले उठाएका माग आफूले पूरा गर्न नसक्ने भन्दै आयोजनाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई गुहारेकामा मन्त्री देवेन्द्र दाहालले पहल गरेका छैनन्।

आयोजनाका इन्जिनियर सन्जय पन्थीले काममा अवरोधपछि समस्या समाधानका लागि पहल गर्न मन्त्रालयलाई आग्रह गरेको तर अहिलेसम्म कुनै नतिजा नआएको बताए।

‘हामीले स्थानीयका माग सम्बोधन गर्न नसक्ने भएपछि मन्त्रालय पुगेर सचिवलाई जानकारी गरायौं। तर अहिलेसम्म काम अगाडि बढाउने वातावरण बनेको छैन,’ उनले भने।

स्थानीयले निःशुल्क खानेपानी, चर्किएका घरको उचित क्षतिपूर्ति, योग्यता र क्षमताका आधारमा प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारी लगायत माग अघि सारेर काम गर्न दिएका छैनन्।

सुरुङ मार्गमा स्थानीयले काम ठप्प पारेको यो छैटौंपटक हो। पटक पटकको अवरोधका कारण सुरुङ मार्ग संचालनको मिति पछाडि धकेलिन पुगेको छ।

खानेपानी योजनाका लागि भौतिक पूर्वाधार मन्त्रालयले खानेपानी मन्त्रालयलाई पत्राचार गरेको छ। तर, जवाफ आएको छैन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक सहसचिवले काममा अवरोध भएको विषयलाई मन्त्री दाहालले गम्भीर रुपमा नलिएकाले समस्याको समाधान ननिस्किएको बताए।

‘मन्त्रीज्यूले यसलाई ठूलो समस्या मान्नुभएको छैन। नत्र यत्रो समयसम्म केही न केही निचोड निस्किहाल्थ्यो नि,’ ती सहसचिवले भने, ‘स्थानीयसँग कुरा गरेर यी माग जायज छन्, यी माग चाहिं पूरा गर्न सकिंदैन भनिनुपर्नेमा मन्त्रीले नै बेवास्ता गरेपछि हामी कर्मचारीले के गर्नु?’