नेपालमा मात्रै होइन अमेरिकामा पनि कर बढ्नुअघि स्टक बढाउने होड, एप्पलले लग्यो ५ विमान आइफोन

बिजमाण्डू
२०८१ चैत्र २४ गते १५:४४ | Apr 6, 2025
नेपालमा मात्रै होइन अमेरिकामा पनि कर बढ्नुअघि स्टक बढाउने होड, एप्पलले लग्यो ५ विमान आइफोन

काठमाडौं। बजेट अघि कर बढ्ने सूचनासँगै नेपालमा भन्सार जाँचपास गर्न उछलकुद हुन्छ। मदिरा र चुरोटको उत्पादन गरेर वेयरहाउसमा राखिन्छ। कतिपय पसलमा चुरोटनै पाइदैन। नेपालका लागि सामान्य बन्ने गरेको यो विषय अमेरिकामा पनि देखिएको छ।

Tata
GBIME

एप्पलले भारतबाट ५ वटा विमानमा आइफोन र अन्य उत्पादनहरू भरेर अमेरिका पठाएको छ। नयाँ अमेरिकी कर नीतिको प्रभावबाट बच्नका लागि एप्पलले भारतबाट ठूलो मात्रामा उत्पादनहरू अमेरिका आपूर्ति गरेको हो

केवल तीन दिनको अवधिमा उक्त मात्रामा उत्पादनहरू भारतबाट पठाइएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ। मार्चको अन्तिम साता ती उत्पादनहरु ढुवानी गरिएको थियो। अमेरिकी सरकारले ५ अप्रिलदेखि लागू गरेको १० प्रतिशत ट्यारिफको प्रभाव कम गर्नका लागि उक्त ढुवानी गरिएको जनाइएको छ।

एप्पलले भारत र अन्य देशहरूमा खुद्रा मूल्य परिवर्तन गर्ने योजनाबारे हालसम्म केही बोलेको छैन। कम्पनीले ट्यारिफको असरलाई कम गर्नका लागि भारत र चीनका उत्पादन केन्द्रहरूबाट अमेरिकी बजारतर्फ स्टक सारेको हो।

यो ढुवानीका लागि उपयुक्त समय नभए पनि ट्यारिफको प्रभावलाई ध्यानमा राख्दै एप्पलले आफ्नो स्टक अमेरिका पठाउन चाँडो कदम चालेको देखिन्छ।

एप्पलको यस ‘प्रि ट्यारिफ स्टकिङ’ले कम्पनीलाई मूल्य स्थिर राख्न मद्दत पुर्‍याएको छ। अमेरिकामा अहिले केही महिनाका लागि पर्याप्त स्टक रहेको जनाइएको छ।

‘नयाँ ट्यारिफ दरका आधारमा आउने ढुवानीहरूका लागि कम्पनीले बढी मूल्य तिर्नुपर्नेछ। तर यसअघि पठाइएको सामानले कम्पनीलाई यो वृद्धिको प्रभावबाट अस्थायी रूपमा जोगाउन मद्दत पुर्‍याउने छ,’ एप्पल स्रोतले टाइम्स अफ इन्डियालाई भनेको छ।

यस कदमले एप्पललाई कुनै पनि मूल्य परिमार्जनको निर्णय गर्दा सोच विचार गर्ने केही समय दिएको छ।

‘यदि मूल्य वृद्धि गर्नुपर्ने अवस्था आयो भने यो केवल अमेरिकामा मात्र सीमित रहने छैन। बरु भारत लगायत अन्य प्रमुख बजारहरूमा पनि यसको प्रभाव पर्न सक्छ,’ स्रोतले भन्यो।

कम्पनीले हाल आवश्यक परेमा मूल्य समायोजन गर्न मिल्ने गरी आफ्नो आपूर्ति श्रृंखलामा विभिन्न ट्यारिफ संरचनाहरूले पार्ने प्रभावबारे अध्ययन गरिरहेको छ।

अमेरिका एप्पल उत्पादनको बिक्रीका लागि प्रमुख बजार हो। कम्पनीले माग र मर्जिनमा असर पर्ने गरि उपभोक्ताहरूमाथि मूल्यको भार नपार्ने प्रयास गरिरहेको बताइएको छ।

भारतबाट एप्पलले मात्रै निर्यातमा वृद्धि गरेको होइन। मुम्बईबाट अमेरिकी बजारमा गहना र आभूषणको निर्यात पनि अप्रिल १ देखि ४ बीचमा ६ गुणा बढेर ३४ करोड ४० लाख डलर पुगेको छ। यो अघिल्लो वर्षको ६ करोड १० लाख डलरको तुलनामा ठूलो वृद्धि हो।

‘मार्च महिनाको अन्तिम हप्ता निर्यातमा ठूलो वृद्धि देखियो,’ जेम्स एन्ड ज्वेलरी एक्सपोर्ट प्रोमोसन काउन्सिलका प्रमुख किरिट भन्सालीले भने।

फेडेरेसन अफ इन्डियन एक्सपोर्ट अर्गानाइजेसन्सका महानिर्देशक अजय सहाइले हवाई मार्गबाट ढुवानी गर्न सकिने वस्तुहरूको निर्यातमा वृद्धि भएको बताए।

‘मार्च २०२५ मा ४० अर्ब डलरको निर्यात हुने मैले अपेक्षा गरेको छु,’ सहाइले भने।

२०२४ को मार्चमा कूल निर्यात ४१.६ अर्ब डलर पुगेको थियो।

भारतको कूल वस्तु र सेवा निर्यात अनुमानित रूपमा ८०० अर्ब डलर पार गरेको अनुमान गरिएको छ। यद्यपि, वस्तु निर्यातमा ३ प्रतिशतले कमी आएको छ। वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले फेब्रुअरीमा ११ प्रतिशतले निर्यातमा गिरावट आएपछि निर्यातकर्ताहरूलाई ढुवानी तीव्र बनाउन आग्रह गरेका थिए।

अमेरिकाले लागू गरेको नयाँ ट्यारिफले एप्पलको उत्पादन रणनीतिमा परिवर्तन ल्याउन सक्ने सम्भावना पनि छ। अमेरिकाले चीनलाई लगाएको ५४ प्रतिशतको तुलनामा भारतलाई २६ प्रतिशत कर लगाएको छ। यसकारण एप्पलले भारतमा आफ्नो उत्पादन केन्द्र बढाउन सक्छ।

यद्यपि, उत्पादन स्थानहरूको निर्णय विभिन्न देशहरूसँगको ट्यारिफ सम्झौतामा निर्भर रहनेछ।

हाललाई आवश्यक स्टक सुरक्षित भए पनि निर्यातकर्ताहरूले अग्रिम ढुवानीका कारण अप्रिल-जुनमा व्यापारमा कमी आउन सक्ने चेतावनी दिएका छन्। मार्चको व्यापार तथ्यांक अप्रिल १५ मा सार्वजनिक हुने अपेक्षा गरिएको छ।