
काठमाडौं। नेपाल समुद्रपार निकासी पैठारी संघले वस्तु आयातका क्रममा झेल्नु पर्ने प्रक्रियागत कठिनाइ समाधान गर्न आग्रह गरेको छ।
संघको टोलीले राजस्व अनुसन्धान कार्यालय पथलैया, सुक्खा बन्दरगाह सिर्सिया र वीरगन्ज भन्सार कार्यालयका प्रमुखहरुलाई भेटेर व्यवसायीले वस्तु आयातका क्रममा झेल्नु पर्ने प्रक्रियागत कठिनाइ समाधान गर्न आग्रह गरेको हो।
संघले राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख हरिप्रसाद शर्मासँग आयातित वस्तुको मूल्यांकन सम्बन्धमा भन्सार कार्यालयहरुसँग समन्वय गर्न, ढुवानीकर्ता वा चालकले गर्ने लापरवाहीमा व्यवसायीलाई दण्डित नगर्न र उजुरी परेकै आधारमा पक्राउ नगर्न आग्रह गरेको छ।
व्यवसायीहरुले राजस्व अनुसन्धान कार्यालयलाई ढुवानी साधनको खानतलासीमा मात्र केन्द्रित नहुन पनि आग्रह गरेका छन्। एउटै भीसीटीएसबाट पटकपटक वीरगन्जदेखि काठमाडौंसम्म सामान ढुवानी हुने गरेको सूचना प्राप्त भएको भन्दै यसलाई रोक्नुपर्ने व्यवसायीहरुको माग छ।
उनीहरुले भन्सार कार्यालय प्रमुखलाई बढी महसुल दर रहेको हार्मोनिक कोडमा वस्तु वर्गीकरण गर्ने गरेको गुनासो गर्दै हार्मोनिक कोडलाई १० डिजिटको बनाउन आग्रह गरेका छन्।
ड्यामेज वा टुटफुट भई आएका सामानमा भन्सार छुट दिन तथा गलत सामान आएको अवस्थामा फिर्ता गर्ने अवधि ९० दिनबाट बढाएर १८० दिन कायम गर्न पनि व्यवसायीहरुले माग गरेका छन्।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाले सन्दर्भ मूल्य सूची हटाउने विषयमा भन्सार प्रशासन पनि सकारात्मक रहेको र आगामी साउनबाट हट्न सक्ने बताएको संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। उनले आफूले आयात गरेको सामान घोषणा गर्नुअघि व्यवसायीले आफैं जाँच गरे धेरै समस्या समाधान हुने पनि बताए।