एफएनसीसीआई र थाइल्यान्डको बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर

बिजमाण्डू
२०८१ चैत्र २० गते ११:३९ | Apr 2, 2025
एफएनसीसीआई र थाइल्यान्डको बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर

बैंकक। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र थाइल्यान्डको थाइ चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ।

Tata
GBIME

दुवै देशका प्रधानमन्त्रीहरूको उपस्थितिमा बुधबार बैंककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र थाइ चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर गरेका हुन्।

उक्त समझदारीले नेपाल र थाइल्यान्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवर्धन गर्ने, तथा व्यापार र लगानी विस्तारका लागि रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ। साथै, दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न यो समझदारीले महत्त्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।

द्विपक्षीय समझदारी अन्तर्गत दुवै पक्षले व्यापार प्रवर्धन, संयुक्त उद्यमको सुविधा, व्यापारिक जानकारी आदानप्रदान, र औद्योगिक सहकार्यलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, व्यापार मेला, व्यावसायिक फोरम र विशेष आर्थिक कार्यक्रमहरूमा सहभागितालाई प्रोत्साहन गर्ने विषय समझदारीपत्रमा समावेश छ।

यस्तै, विवाद समाधान प्रणालीलाई प्रवर्धन गर्ने र प्राविधिक विशेषज्ञता तथा तालिम आदानप्रदानलाई सशक्त बनाउने विषय पनि समझदारीपत्रमा उल्लेख छ।

सो अवसरमा महासंघका अध्यक्ष ढकालले नेपाल-थाइल्यान्डबीच भएको यस समझदारीले दुई देशबीचको आर्थिक सहकार्यको लागि नयाँ आधारशिला तयार गरेको धारणा राखे।

‘दुई देशबीच व्यापार व्यवसायको सहकार्यका पर्याप्त सम्भावनाहरू रहेका छन्। महासंघ र थाइल्यान्डको बोर्ड अफ ट्रेडका बीचको आपसी सहकार्यको व्यापार र लगानीका लागि नयाँ अवसरहरू खोल्ने विश्वास छ। जसले दुवै राष्ट्रका व्यवसायहरूलाई फस्टाउने अवसर प्रदान गर्नेछ,’ अध्यक्ष ढकालले भने।

यस्तै, थाइ चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष अंगुबोल्कुलले यो साझेदारीले दुवै देशका व्यापारिक समुदायहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्ने बताए।

बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनका अवसरमा गरिएको यो समझदारीपत्र ३ वर्षसम्म लागू हुनेछ। यसले नेपाली तथा थाइ व्यवसायहरूबीच निरन्तर सहकार्यका लागि एक मजबुत आधारको रूपमा काम गर्नेछ।

महासंघले थाइल्यान्डको बोर्ड अफ ट्रेडसँग मिलेर यस सम्झौताका लक्ष्यहरू सफलतापूर्वक कार्यान्वयन गर्न तथा आपसी सहकार्यका नयाँ सम्भावनाहरू खोज्न तत्पर रहेको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली प्रतिनिधी मण्डल यही चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमणमा छन्। उनी बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुनेछन्।