
काठमाडौं। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले नेपालमा एआईमा आधारित डेटा विश्लेषण प्रणाली सार्वजनिक गरेको छ।
यूएनएफपीएले सोमबार एक समारोहबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गुगल र काठमाडौंस्थित बेलायती दूतावाससँगको सहकार्यमाएआईमा आधारित प्रणाली सार्वजनिक गरेको हो।
सरकारी निकाय, विकास साझेदार र निजी क्षेत्रकाका प्रतिनिधिको उपस्थितिमा गरिएको कार्यक्रममा डेटा विश्लेषण र प्रतिवेदन तयार पार्ने तरिकालाई रूपान्तरण गर्ने क्षमता भएको प्रणाली प्रस्तुति गरिएको थियो।
यो प्रविधिले प्रयोगकर्तालाई जटिल डेटासेटहरूमाथि सरल प्रश्नमार्फत वास्तविक समयमै एआई-सञ्चालित तथ्याङ्क, ग्राफ, तालिका तथा प्रतिवेदन निर्माण गर्न सक्षम बनाउने यूएनएफपीएले बताएको छ।
प्रणाली परीक्षणका लागि नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को डेटा प्रयोग गरिएको थियो। प्रणालीको केन्द्रमा रहेको क्षेत्र-प्रज्ञ सेमान्टिक क्वेरी इन्जिनले प्रयोगकर्ताको प्रश्न कुन विषयसँग सम्बन्धित हो भन्ने कुरा बुझ्ने क्षमता राख्छ।
यूएनएफपीएकी नेपाल प्रतिनिधि वोन यङ होङले यो प्रणालीले सरकारलाई डेटा विश्लेषण र विवरणात्मक प्रतिवेदन छिटो सार्वजनिक गर्न सहयोग पुर्याउने बताइन्।
‘एआईले सर्वेक्षण कसरी सञ्चालन गरिन्छ र प्रतिवेदन कसरी तयार गरिन्छ भन्ने कुरामा मूलभूत रूपमा रूपान्तरण ल्याउने सम्भावना राख्छ। डेटा सङ्कलन र विश्लेषणलाई प्रभावकारी र सटीक बनाउँछ। यो प्रणालीले सरकारलाई डेटा विश्लेषण र विवरणात्मक प्रतिवेदन छिटो सार्वजनिक गर्न सहयोग पुर्याउने क्षमता राख्छ। जसले उत्तरदायित्व बढाउँछ र लागत-कुशलता ल्याउँछ,’ उनले भनिन्, ‘यस्तो प्रगतिलाई सम्भव बनाउन बेलायती दूतावासको नवप्रवर्तनशील साझेदारीप्रति हामी आभारी छौं।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले डेटा विश्लेषणमा देखिने मानव स्रोत तथा प्राविधिक क्षमताको अभावलाई सम्बोधन गर्न एआई प्रविधि उपयोगी हुने बताए।
नेपालका लागि बेलायती राजदूत रोबर्ट डोमिनिक रसेल फेनले यो प्रणालीले संस्थाहरू र नागरिकबीचको दूरी घटाएर प्रमाणमा आधारित नीति निर्माण बनाउन सहयोग पुग्ने बताए।