गाडी व्यवसायीको विवादले नाडा अटो शो संकटमा, तीन ठूला घरानाले मात्रै गराए बुकिङ

शुक्र गिरी
२०८१ चैत्र १७ गते ०६:०० | Mar 30, 2025
गाडी व्यवसायीको विवादले नाडा अटो शो संकटमा, तीन ठूला घरानाले मात्रै गराए बुकिङ


काठमाडौं। गाडी व्यापारीको संस्था टुक्रिएपछि वर्षेनी काठमाडौंको भृकुटीमण्डपमा हुँदै आएको देशकै ठूलो प्रदर्शनी नाडा अटो शो संकटमा परेको छ।

Tata
GBIME
NLIC

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) दुई संस्था भएपछि अटो शो संकटमा परेको हो।

दुवै संस्थाले अटो शो फरक फरक मितिमा गर्ने घोषणा गरेका थिए। यो घोषणासँगै नाडा अटो शोमा तीन वटा ठूला व्यवसायिक घराना मात्रैले बुकिङ गरेका थिए।

नाडा अटो शोका लागि न्यून बुकिङसँगै दुई संस्था मिलेर प्रदर्शनी गर्ने विषयमा छलफल सुरु भएको छ। दुई वटा अटो शो एक वर्ष नाडाले र अर्को वर्ष नाइमाले गर्ने वा मिलेर गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको एक व्यवसायीले बताए।

‘सुरुवाती चरणमा दुवै विकल्पमा छलफल भएको छ। यसपटकको अटो शो नाडाले गर्ने र अर्कोपटक नाइमाले गर्ने वा दुबै मिलेर एउटा मात्रै अटो शो गर्ने भन्नेबारेमा छलफल केन्द्रित छ। निष्कर्षमा पुग्न बाँकी छ,’ ती व्यवसायीले भने।

यस विषयमा दुवै संस्थाबीच अहिले दैनिकरुपमा छलफल चलिरहेको छ।

अटो शो जसरी पनि गर्न करणको दौडधुप

नाडाका अध्यक्ष करण चौधरीले यसपालिको अटो शो जसरी पनि नाडाबाट गराउन दौडधुप गरिरहेका छन्। यसका लागि उनले नाइमामा आवद्ध व्यवसायीहरुलाई दैनिक रुपमा भेटघाट गर्ने गरिरहेका छन्।

उनी नाइमाको चैत ४ गते बसेको कार्यसमिति बैठकमा पनि सहभागी भएका थिए। बैठकमा ठूला आयातकर्ता र घरानाका सबै उपस्थिति थिए। नाइमाकी अध्यक्ष रितु सिंह वैद्य, शेखर गोल्छा, सौरभ ज्योति लगायतले करणलाई सम्झाएका थिए।

‘बैठकमा करणजीलाई सबैजसो पूर्वअध्यक्ष तथा शेखर गोल्छा, सौरभ ज्योति लगायतले सम्झाउनुभयो। नाइमा खोल्ने योजना पहिलेदेखि नै थियो। तपाइँ अध्यक्ष भएको समयमा गठन हुनु संयोग हो। नाडालाई बिगार्ने हाम्रो योजना हैन भनेर भन्नुभयो,’ बैठकमा सहभागी एक व्यवसायीले भने, ‘दुई वटा संस्थालाई कसरी अगाडि लान सकिन्छ भन्ने कुरामा छलफल हुनुपर्‍यो भन्ने कुरा उठ्यो। अटो शो गर्ने कुरामा विभिन्न विकल्पमा छलफल भएको छ।’

नाडाका अध्यक्ष चौधरीले पनि नाइमासँग आफूले निरन्तर छलफल गरिरहेको बताए। ‘हामीले अटो शोको विषयमा नाइमासँग छलफल गरिरहेका छौं। निश्कर्षमा पुगेका छैनौं,’ उनले भने।

सम्बन्धित समाचार : ५० वर्षको लिगेसी बोकेको व्यावसायिक संस्था आपसी मतभेदले विभाजित, देशकै ठूलो प्रदर्शनी संकटमा

चौधरीका अनुसार एक साताभित्र अटो शो आयोजना गर्ने विषय टुंगो लाग्नेछ।

नाइमाका सदस्यहरुले अटो शोको विषयमा नाडासँग कुरा मिल्ने सम्भावना देखेका छैनन्। आफ्नो कार्यकालमा नाडा अटो शो नहुँदा गलत सन्देश जाने भएकाले करणले दौडधुप गरिरहेको नाइमाका सदस्यहरुको बुझाइ छ।

‘नयाँ संस्था खोलेर अटो शो अलग्गै गर्ने पहिलेदेखिकै योजना हो। नाडाका पूर्वअध्यक्ष ध्रुव थापा र कृष्ण दुलालले व्यवसायीहरुलाई थुम्थुम्याएर राखेका थिए। तर करणजीले सबैलाई मिलाउन सक्नु भएन। जसले गर्दा आज यो दिन आयो। त्यसैले अटो शोबारे कुरा मिल्न धेरै ढिला भइसकेको छ,’ नाइमाका एक सदस्यले भने, ‘आजको दिनसम्मको कुरा अनुसार नाइमा अटो शो गर्नबाट पछाडि हट्दैन। त्यही अनुसार तयारी भइरहेको छ। हामीले व्यवसायीहरुलाई नाडाको भन्दा २५ प्रतिशत सस्तोमा स्टल दिएका छौं। अटो शोको लेआउट पुरै नयाँ हुनेछ।’

खासगरी नाडाका अध्यक्ष चौधरीले आफूखुशी अटो शोको मिति तोकेको भन्दै धेरै गाडी बिक्रेताहरु असन्तुष्ट छन्।

नाडाले भदौ ३ देखि अटो शो गर्ने घोषणा यसअघि नै गरिसकेको छ। चौधरीले नाडाको कार्यसमितिले निर्णय नगरेकै अवस्थामा मिति तोकेको भनेर धेरै व्यवसायी असन्तुष्ट भएका हुन्।

असन्तुष्ट व्यवसायीमध्ये धेरैजसो नाइमामा आवद्ध छन्। नाइमाले साउन २१ देखि अटो शो गर्ने भन्दै त्यसका लागि अहिले स्टल बुकिङ गराइरहेको छ।

सम्बन्धित समाचार : नाडाभित्रको विवादले लियो कर्पोरेट वार, अटो व्यवसायीहरुको अर्को संस्था दर्ता

नाडा अटो शोको सम्भावना टर्दै!

नाडाले अटो शोका लागि बुकिङ गराइसकेको छ। उसले फागुन २७ देखि चैत ४ गतेसम्म स्टल बुकिङ खुलाएकामा तीन वटा घराना मात्र सहभागी हुने देखिएको छ। स्टल बुकिङ गराउने अरु स्पेयर पार्ट्स र लुब्रिकेन्ट्स तथा बाइक बिक्रेताहरु हुन्।

नाडा कार्यसमिति सदस्यका अनुसार अटो शोका लागि ठूला व्यवसायीतर्फ टाटा, एमएडब्लू, सीजी होल्डिङ्स र सीजी ग्रुपले मात्रै स्टल बुकिङ गराएका हुन्। सीजी होल्डिङ्स र सीजी ग्रुप एउटै घराना हो।

नाडा अटो शोका लागि स्काइवेल, बीएडब्लू, टेस्ला, अवतार, एक्सपेङ, रिडारा, सुजुकी, जीएसी, स्मार्ट, दायुन, नेटा, चांगन, डिपल, जीप, सेरेस, नामी र स्कोडा गाडि बिक्रेताले स्टल बुकिङ गराएका हुन्।

‘नाडा अटो शोका लागि ठूला व्यवसायीतर्फ टाटा, एमएडब्लू, सीजी होल्डिङ्स र सीजी ग्रुपले मात्रै स्टल बुकिङ गरेका छन्। स्टल बुकिङ गराउने अरु स्पेयर पार्ट्स र लुब्रिकेन्ट्स बिक्रेता हुन्। यस्तै केही बाइक बिक्रेता पनि पनि आउनेछन्,’ नाडाका ती सदस्यले भने, ‘ठूला घराना धेरैले स्टल बुकिङ नगराएका कारण यसपालि नाडा अटो शो गर्न धेरै मुस्किल छ।’

नाडाका ती सदस्यले नाइमासँग कुरा नमिले नाडा अटो शो हुने सम्भावना देखेका छैनन्। ‘अहिले प्राय: सबै घरानाले नाइमाले गर्ने अटो शोका लागि स्टल बुकिङ गरिरहेका छन्,’ ती व्यवसायीले भने, ‘करणजीले नाइमासँग कुरा मिलाउन नसके नाडा अटव शो हुने सम्भावना देखिंदैन भने पनि हुन्छ।’

तीन वटा घराना बाहेक पेट्रोल तथा इभी ब्रान्ड बिक्रेता सबैजसो व्यवसायीले नाइमाको अटो शोका लागि स्टल बुकिङ गरिरहेका छन्। नाइमाको अटो शोमा टोयोटा, लिपमोटर, ओमोडा, निसान, किया, एमजी, मज्दा, सिट्रोन, प्युजो, फोर्ड, प्रोटोन, जीडब्लूएम, बजाज, ट्राइम्फ, एथर, सुजुकी बाइक, हिरो, होन्डा, महिन्द्रा, टीभीएस लगायत ब्रान्ड सहभागी हुँदैछन्।

बीवाइडी, हुन्डाई, कायी र बीएमडब्लूले भन निर्णय लिइसकेका छैनन्। यी ब्रान्ड कुन अटो शोमा सहभागी हुने भन्नेमा दोधारमा छन्।