
काठमाडौं। प्याजको मूल्य दैनिक रुपमा घट्न थालेको छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार चैत लागे यता प्याजको भाउ ओरालो लाग्न थालेको हो।
यतिबेला प्याजको थोक मूल्य प्रति केजी ५० रुपैयाँ छ। फागुन अन्तिमसम्म प्रति केजी ५८ देखि ६० रुपैयाँ रहेको प्याजको मूल्य एक सातामा १० रुपैयाँसम्म सस्तो भएको हो। मूल्य एक महिनामा प्रति केजी २५ रुपैयाँसम्म घटेको व्यवसायीले बताएका छन्।
नेपाल आलु प्याज महासंघका महासचिव प्रकाश गजुरेलले प्याजको आपूर्ति सहज भएपछि भाउ सस्तो हुन थालेको बताए। यतिबेला भारतमा नयाँ प्याजको सिजन हो। नयाँ उत्पादन आएपछि भाउ पनि सस्तो हुँदै गएको उनले जानकारी दिए।
अहिले थोक बजारमै प्याजको मूल्य ५० देखि ५२ रुपैयाँ छ। हरेक वर्ष यो समयमा प्याजको भाउ घट्ने गर्छ।
प्याजको भाउ योभन्दा कम नहुने उनले जानकारी दिए। भारतको बजार हेर्दा प्याजको भाउ धेरै नघट्ने देखिएको उनले बताए।
यतिबेला बजारमा प्याजको खपत पनि कम हुने बेला हो। हाल दैनिक ८० देखि ९० टन प्याज नेपाल भित्रिरहेको छ। अन्य समयमा दैनिक १ लाख टनभन्दा बढी प्याज आउने संघले जनाएको छ।
त्यस्तै, भारतबाट आलुको आयात कम हुँदै गएको महासचिव गजुरेलले बताए। अहिले स्वदेशमा उत्पादित आलुले बजारको माग धानिरहेको छ।
अहिले देशका विभिन्न क्षेत्रमा आलुको उत्पादन हुने सिजन हो। नयाँ आलु बजारमा आएपछि भाउ सस्तो भएको उनले बताए।
उनका अनुसार भारतबाट नगन्य मात्रामा आलु आयात भएको छ। आलुको मूल्य प्रति केजी २६ देखि ३० रुपैयाँ छ। यसअघि आलुको भाउ प्रति केजी ७० रुपैयाँसम्म पुगेको थियो।