
काठमाडौं। ब्रोइलर कुखुराको भाउ घटेको छ। राष्ट्रिय कुखुरा व्यवसायी संघले भारतबाट ठूलो परिमाणमा अवैध कुखुरा आउन थालेपछि स्वदेशमा उत्पादित कुखुराको भाउ घटेको जनाएको छ।
संघले बुधबारदेखि बजारमा लागू हुनेगरी जिउँदो कुखुराको भाउ घटेको जानकारी दिएको हो। संघले तोकेको नयाँ मूल्यअनुसार जिउँदो कुखुरा केजीमा १० रुपैयाँ घटेर प्रति केजी २५० रुपैयाँ कायम भएको छ। यसअघि केजीमा १० रुपैयाँ बढेर प्रति केजी २६० रुपैयाँ पुगेको थियो।
तयारी मासुको उपभोक्ता मूल्य भने प्रति केजी ३४५ रुपैयाँ कायम भएको छ। यसअघि मासुको मूल्य प्रति केजी ३६० रुपैयाँ थियो।
गत महिनासम्म बजारमा मासुको माग बढ्न थालेपछि भाउ पनि उकालो लागेको थियो। यतिबेला उत्पादन पर्याप्त नभएपनि भारतीय कुखुराले बजार लिन थालेपछि भाउ घटेको हो।
भारतीय कुखुरा स्वदेशीको तुलनामा सस्तो पर्छ। यसले गर्दा स्वदेशी कुखुरा बिक्री नहुने भन्दै व्यवसायीहरूले भाउ घटाउन थालेका हुन्।
देशभर दैनिक ५ लाखभन्दा बढी कुखुराको मासुको खपत हुने गरेको छ।