ट्रकमा करोडौं रुपैयाँ बरामद, केरुङमा डलर बुझाएर काठमाडौंमा सुन ल्याउने थियो योजना

सविन ढकाल
२०८१ चैत्र ५ गते १२:०७ | Mar 18, 2025
ट्रकमा करोडौं रुपैयाँ बरामद, केरुङमा डलर बुझाएर काठमाडौंमा सुन ल्याउने थियो योजना


काठमाडौं । गएराति काठमाडौंको टोखाबाट प्रहरीले ट्रकमा २० करोड रुपैयाँभन्दा बढी रकम सहितको विदेशी मुद्रा फेला पार्‍यो। ट्रकमा बरामद रकम अझै प्रहरीले गणना गरिरहेको छ।

Tata
GBIME
NLIC

प्रहरीले ट्रकसँगै सिन्धुपाल्चोकका कुसाङ लामालाई टोखाबाटै नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा लामा सुन तस्करीमा पहिलादेखि नै संलग्न रहेको व्यक्ति भएको खुलेको छ।

लामा सुन तस्करी मुद्दामा ५ वर्ष जेल बसेर रिहा भएको प्रहरीले जनाएको छ। उनी २०७३ पुस दोस्रो साता पक्राउ परी जेल परेर २०७८ सालमा रिहा भएका थिए।

महानगरीय अपराध महाशाखाका अनुसार रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा८च ७४२० नम्बरको हाइलक्स गाडी जाँच गर्दा ७ किलो सुन बरामद भएको थियो। उक्त गाडी चालक थिए सिन्धुपाल्चोक घर भइ स्वयम्भूमा बस्दै कुसाङ लामा। गाडीको इन्जिनमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएपछि उनी पक्राउ परेका थिए।

त्यसपछि उनी फेरि सुन तस्करीमा नै सक्रिय रहेको खुलेको छ। टोखामा फेला परेको ट्रकको मालिक र चालक कुसाङ नै रहेको प्रहरीले जनाएको छ।

सुन ल्याउन केरुङ रकम लग्न प्रयोग गरिएको ट्रक

अहिलेसम्म फेला परेको रकममा करिब १३ लाख युरो रहेको र बाँकी डलर रहेको प्रहरीले जनाएको छ। सो रकम सामाखुशीबाट लोड गरेको सोधपुछका क्रममा खुलेको छ।

ट्रकमा पैसा लिएर लामा केरुङ जाँदै गरेको र त्यहाँ रकम बुझाएर सुन ल्याउने तयारीमा रहेको पनि खुलेको छ। सोधपुछका क्रममा अमेरिकी डलर चिनियाँ नागरिकले दिएको लामाले प्रहरीलाई बताएका छन्।

त्यही क्रममा हिजो राति डीएसपी अनिल घिमिरेको टोलीले ट्रक रोकेर जाँच गर्दा त्यसमा ‘फल्स बटम’ प्रयोग गरेर करोडौंको रकम चीन लगेर सुन ल्याउने तयारी गरिएको बारे खुलेको हो।