
काठमाडौं। एनसी एग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। १८ लाख कित्ता आइपीओ निष्कासन गर्न कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
आइतबार ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्सालमा आयोजित कार्यक्रममा यससम्बन्धमा सम्झौता भएको छ।
सम्झौता पत्रमा एनसी एग्रोका संचालक दीपक प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुईटेलले हस्ताक्षर गरेका छन्।
एनसी एग्रो टेक इण्ड्रष्ट्रिजले कृषि उत्पादनका क्रममा खेर गएका सामाग्रीको स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर ताजा च्याउ उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउनुका साथै उत्पादित च्याउ विदेश निर्यात गर्दै आएको छ। साथै, औषधिजन्य यार्सागुम्बा, लायन्समाने, गानोडरमा, टर्कीटेल, सिताके, ग्रीफोला लगायत विभिन्न च्याउहरूका माइसेलियस उत्पादन गरी क्याप्सुल बनाइ विदेश समेत निर्यात गरिरहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार च्याउलाई अत्याधुनिक प्रविधिबाट प्रशोधन गरी ड्राइ मसरुम, मसरुम सुप तथा क्यान मसरुम आदि बनाउने गरेको छ। साथै, गोब्रे च्याउ उत्पादन गर्नका लागि आवश्यक कच्चा पदार्थ (कम्पोष्ट) उत्पादन गरी नेपालभरीका किसान तथा ठूला व्यावसायिक कृषकहरूलाई बिक्री वितरण गर्दै आइरहेको कम्पनीले बताएको छ।
कम्पनीले च्याउ टिपिसकेपछि बाँकी रहेको कम्पोष्ट तथा बाँस प्रशोधन गर्दा निष्कने भूषलाई कोइलामा परिणत गरी वातावरण मैत्री संरचनाको समेत निर्माण गर्दै आएको छ।
विसं २०७५ देखि संचालनमा आएको एनसी एग्रो टेक इण्ड्रष्ट्रिजको केन्द्रीय काठमाडौंको टोखा नगरपालिका-०८ मा छ। उत्पादन क्षेत्र भने पूर्व नवलपरासी गैडाकोट-१४, नवलपुरमा छ।