सुनको मूल्य बढेका तुलनामा घटेको छैन बजारमाग, तस्करीले गरेको हो भरथेग?

सरला सुवेदी
२०८१ चैत्र २ गते ०६:१९ | Mar 15, 2025
सुनको मूल्य बढेका तुलनामा घटेको छैन बजारमाग, तस्करीले गरेको हो भरथेग?


काठमाडौं। सुनको मूल्य फेरि उच्च हुँदै प्रति तोला १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको छ। यसपटक विवाहको सिजनताका माघमा तोलाको १ लाख ५५ हजार रुपैयाँ रहेको सुन बढ्दै १ लाख ७० हजार २ सयसम्म पुग्यो। घटबढ भइरहँदा फागुनमा कारोबार मूल्य १ लाख ७० हजार रुपैयाँ तोला हाराहारी रह्यो। विवाहको लगनमा मूल्य उच्च थियो, कारोबार भने भइरह्यो। तर, आयातकर्ता बैंकहरुलाई व्यवसायीबाट ‘धेरै ल्याउ’ भनेर चाप परेन। खाँचो कसरी टर्‍यो?

Tata
GBIME
NLIC

बैंकहरुले आयात गरेको सुन होल्डमा राख्नु परेको छैन। बजारमा व्यवसायीको कारोबार चलेको देखिएको छ। व्यवसायीहरुकै अनुसार बैंकहरुले आयात गरेको कोटाले नेपाली बजारलाई पुग्दैन। त्यसो भए कहाँबाट भइरहेछ भरथेग? नेपाली बजारमा फेरि तस्करीको सुन आइरहेको शंका बढेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामदी र पक्राउका घटनाले पनि यो शंकालाई बल दिएको छ। मूल्य उच्च भएको मौका छोपेर तेस्रो मुलुकबाट नेपाल आउने यात्रुमार्फत तस्करी भइरहेको संकेत देखिएको हो।

फागुन १४ को रात फ्लाइ दुबईबाट काठमाडौं ओर्लिएका उज्वेकिस्तानका चार जनालाई प्रहरीले पक्राउ गरेको थियो। विमानस्थलबाट सजिलै बाहिरिएका तीन महिला र एक पुरुषलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ४ किलो सुन फेला परेको थियो। उनीहरुले सुन मलद्वारमा लुकाएर ल्याएका थिए।

तस्करबाट बरामद सुन।

विमानस्थलको यात्रु आगमनमा कडा जाँच हुन्छ। तर, उक्त क्षेत्रबाट सजिलै बाहिर आएकाहरु पक्राउ परेको घटना अहिलेसम्म अनुसन्धानमा छ। यो घटनाले नेपालमा तस्करीको सुन आउन नरोकिएको देखाएको हो।

वाणिज्य बैंकहरुले दैनिक २० केजीको दरले सुन आयात गरिरहेका छन्। बिहेको लगनका बेला सुनको बजारमाग दैनिक २० केजीभन्दा बढी रहेको व्यवसायीले बताएका छन्।

सरकारले भन्सार दर घटाएपछि भारतबाट सुनको तस्करी कम हुन छाडेको देखिएको छ। तेस्रो मुलुकबाट भने घटेको छैन। चालु आर्थिक वर्षमा भन्सार घटेपछि एक तोलामा सुनमा करिब १८ हजार रुपैयाँको मात्र फरक पर्ने भए पनि तस्करी मौलाउन कम नभएको सुनचाँदी व्यवसायी बताउँछन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली बैंकले आयात गरेको सुनले बजारको दैनिक माग पुरा नहुने बताउँछन्। ‘दैनिक २० केजीभन्दा बढीको खपत हुँदा बैंकले ल्याउने कोटाले मात्र बजारलाई नपुग्नन सक्छ,’ उनले भने, ‘खाँचो कसरी टरेको छ भनेर हामीले कसरी भन्ने? कहीँ कतैबाट तस्करी भएर आइरहेको हुन सक्छ।’

यतिबेला भारतबाट भने सुन आउन कम भएको उनले बताए। ‘अन्य देशबाट सुन ल्याउदा तोलामा १८ हजार रुपैयाँभन्दा बढी फाइदा हुन्छ। पहिलेभन्दा सुनको तस्करी कम छ तर त्रिभुवन विमानस्थलमा समातिएका घटनाले सुन लुकाएर ल्याउनेहरु सक्रिय रहेको बुझिन्छ,’ उनले भने, ‘चाइनाबाट पनि सुनको तस्करी हुने गरेको सुनिन्छ तर, यसमा यकिनसाथ केही भन्न सक्ने अवस्था छैन।’

बैंकले कोटाअनुसार सुन आयात गरिरहेको छ। ती सबै सुन बिक्री भएर स्टक बसेको छैन।

त्यस्तै नेपाल सुनचाँदी व्यवासायी महासंघका उपाध्यक्ष तथा काठमाडौं अर्नामेन्ट्सका संचालक धर्मसुन्दर बज्राचार्य भने तस्करी गरेर ल्याइएका सुनमा धेरै नाफा नहुने बताउँछन्। ‘पहिले तस्करीको सुन ल्याउँदा व्यवसायीलाई धेरै फाइदा हुन्थ्यो। अहिले दुबईबाट ल्याउँदा १७ देखि १८ हजार रुपैयाँमा फरक पर्छ,’ उनले भने, ‘यतिका लागि झोखिम लिने निकै कम हुन्छन्। बजारमा तस्करीका सुन आउन घटेको छ।’  

भारतबाट सुन आउन कम भएपछि अन्य मुलुकबाट तस्करी भएका खबर आफूहरुले पनि सुनिरहेको उनले बताए। ‘बजारमा केही व्यवसायीले भन्सार छलेर ल्याएका सुन बिक्री गरिरहेको हुन सक्छ,’ उनले भने, ‘तर, अब त बिहेको लगन पनि सकियो, बजारमा कारोबार नै कम छ।’

केही व्यवसायी बैंकले सुन आयातमा ढिलाइ गरिरहेको बताउँछन। महिनामा ६ सय केजी सुन आयात हुनुपर्नेमा यतिबेला ४ देखि ५ सय केजीमात्र सुन आयात भइरहेको छ। 

विदेशबाट गहना ल्याउने बढे

पछिल्लो समय नेपालमा विदेशबाट सुनका गहना ल्याउने बढेका छन्। रोजगारी, व्यापार-व्यवसाय र शिक्षाका लागि गएकाहरुले नेपाल फर्कदा सुनका गहना ल्याउन थालेका सुनचाँदी व्यवसायीले बताएका छन्। 

कानुनले पुरुषले २५ ग्रामसम्म र महिलाले ५० ग्राम सुनको गहना ल्याउन वैधता दिएको छ। त्यसैले तेस्रो मुलकबाट फर्कनेहरुलाई गहनामा देखिएको संख्या उल्लेख्य हुने गरेको छ। 

सुनका गहना अन्तर्राष्ट्रिय बजारका तुलनामा नेपालमा तोलामा १८ देखि २० हजार रुपैयाँसम्म फरक पर्छ। त्यसैले नेपाल फर्कनेहरुले सुविधाले पाउने परिमाणका गहना लगाएर आउने गरेका छन्।

‘केही समययता विदेशबाट आउँदा अन्य जिन्सी सामानभन्दा सुन आउने क्रम बढेको देखिएको छ,’ महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले भने, ‘यसरी बाहिरबाट गहना आएपछि हाम्रो बजारको कारोबार कम भएको छ।’