
काठमाडौं। नेपाल राष्ट्र बैंकको आगामी गभर्नर नियुक्तिमा ‘रहस्यमय रोमाञ्चक पटकथा’ को प्लट तयार पारिएको छ।
व्यावसायिक ‘इन्ट्रेस्ट’मा गभर्नर नियुक्त गर्नु हुँदैन भनेर संसद्मा सत्ता र प्रतिपक्ष दुबैले कुरा उठाइरहेका बेला ‘प्रणालीभित्रकै मान्छे’को आवरणमा तीनै व्यावसायिक घरानाले अगाडि सारेको ‘प्रणालीभित्रकै मान्छे’लाई गभर्नर बनाउन प्लट तयार पारिएको हो।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा दोस्रो ठूलो दल एमाले नेतृत्वको संयुक्त सरकार छ। त्यसैले दुबै दलमा पहुँच भएकाहरु शक्ति केन्द्र धाइरहेका थिए।
स्वार्थ-समूहले आ-आफ्नो उम्मेदवार ‘प्लान ए’ र ‘प्लान बी’ अन्तर्गत अगाडि सारिरहेका थिए। तर, गभर्नर को हुन्छ भन्ने यकिन भएको थिएन।
जब, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिचौलियाको उम्मेदवार गभर्नर नियुक्त हुनसक्ने भन्दै संसद्बाट सरकारलाई सचेत गराए, अनि फेरियो स्वार्थ-समूहको रणनीति।
सत्ता र प्रतिपक्ष दुबैतिरबाट गभर्नर नियुक्तिमा चासो बढेपछि प्रणालीभित्रकै मान्छेलाई गभर्नर बनाउन शीर्ष तहमा मोटामोटी सहमति भएको छ। यही सहमतिको आडमा व्यावसायिक समूहले ‘प्रणालीभित्रको मान्छे’को आवरणमा आफ्नो उम्मेदवार अगाडि सारेको छ- राष्ट्र बैंककी बहालवाला वरिष्ठ डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना।

यसअघि नेपाल धितोपत्र बोर्ड (सेबोन) र बीमा प्राधिकरणमा व्यवसायी दीपक भट्टले नेतृत्व गरेको समूहको जोडबलमा अध्यक्ष नियुक्त गरिएको थियो। सेबोन अध्यक्ष नियुक्तिलाई लिएर विवाद मात्र भएन, सरकारको समीकरण नै फेरियो।
सेबोनमा भएको विवाद प्राधिकरणमा नहोस् भनेर यो समूहले रणनीतिकरुपमा आफ्नो पात्र अगाडि सारेको थियो। पत्रकार पृष्ठभूमिका शरद ओझालाई ‘उच्च व्यवस्थापकीय अनुभव’ नहुँदा नहुँदै पनि भट्टको समूहले बोकेर अध्यक्ष बनाएको थियो। पत्रकार भएका कारणले सञ्चार माध्यमले सोझै विरोध गरेनन्, जसले गर्दा ओझाको ‘अनुभव’लाई लिएर अहिलेसम्म विवाद भएको छैन।
त्यही रणनीतिमा भट्ट समूहले डेपुटी गभर्नर ढुंगानालाई अगाडि सारेको छ। निकट स्रोतहरुका अनुसार, भट्टसँग ढुंगानाले बाक्लै भेटघाट गरिरहेकी छन्। त्यो पनि बाहिरफेर होइन, भट्टको कार्यालय किरण भवन सानेपामा।
ढुंगानाले कांग्रेस सभापति शेरबहादुर देउवा र उनका सहयोगी भानु देउवालाई पनि पटक-पटक भेटिसकेकी छन्। भेटमा उनले भन्ने गरेकी छन्- मेरो माइतिखलक सबै कांग्रेस हो। बिहे गरेर आएपछिको घर एमाले हो। त्यसैले मेरो ‘ब्लड’मा कांग्रेस छ।

यो पटकथामा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई रिक्त हुने डेपुटी गभर्नरमा ‘एड्जस्ट’ गरेर ‘सही निर्णय’ गरिएको भ्रम छर्न खोजिंदैछ।
स्वार्थ-समूहले व्यावसायिकताको आडमा आफ्नो मान्छेलाई गभर्नर बनाउन खोजिरहेका बेला कांग्रेसका केही नेताहरुले छुट्टै ‘राजनीति’ सुरु गरेका छन्।
कांग्रेस सभापति देउवाले गत सोमबार आफ्नो गृहजिल्ला डडेल्धुरा गएका बेला त्यहाँका स्थानीय नेता कार्यकर्तासँग दुई जनालाई बराबरी वेटेज दिएर उम्मेदवार बनाउने संकेत गरेका थिए। उनले डा. गुणाकर र डा. रवीन्द्र पाण्डेको नाम लिएका थिए।
गुणाकर अहिले राष्ट्र बैंकको कार्यकारी निर्देशक छन्। कार्यकारी निर्देशकबाट केही वर्षअघि अवकाश पाएका पाण्डे अहिले राष्ट्र बैंकको सञ्चालक समितिमा छन्।
व्यवस्थापन र अर्थशास्त्र दुबैको डिग्री बोकेका भट्टले विदेशी विश्वविद्यालयमा अध्ययन गरेका हुन्। उनले अर्थ मन्त्रालयमा प्रमुख आर्थिक सल्लाहकार भएर पनि काम गरिसकेका छन्।
सुदूरपश्चिमका गुणाकरलाई त्यहाँका कांग्रेस-एमाले दुबै पार्टीका नेताहरुले गभर्नर बनाउनु पर्छ भनेर सोमबार डडेल्धुरा पुगेका देउवासँग लबिइङ गरेका थिए। ‘स्टेट फर्वार्ड’ देउवाले त्यहाँ अर्को पनि उम्मेदवारको नाम आएको आफैंले बताइदिए। त्यो नाम रवीन्द्र पाण्डेको थियो।
पाण्डे देउवा पत्नी आरजु राणाका भाइ भुषण राणा नजिक छन्। पूर्वअर्थमन्त्री तथा देउवा निकट नेता डा. प्रकाशशरण महतसँग पनि पाण्डे निकट छन्। भुषण र महतले देउवासम्म पाण्डेको नाम पुर्याएका हुन्।
‘भट्टको नाम लिएर जाँदा सभापतिज्यूले पाण्डेको पनि नाम आएको छ भन्नु भयो,’ एक नेताले भने, ‘यसअघि एमालेबाट अवरोध भएन भने आफ्नोतर्फबाट भट्टको नाम दिने सभापतिले बताउनु भएको थियो।’
कांग्रेसबाट गुणाकरको नाम आइरहँदा एमालेबाट राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठको नाम अगाडि आएको छ।
अघिल्लो पटक विष्णु पौडेल अर्थमन्त्री हुँदा अर्थ मन्त्रालयको सल्लाहकार भएका, एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा त्यहाँको योजना आयोगको उपाध्यक्ष भएका श्रेष्ठलाई बलियो उम्मेदवारका रुपमा एमाले नेताहरुले लिएका छन्।
अघिल्लो पटक डेपुटी गभर्नर बनाउने बेलामा श्रेष्ठमाथि अन्याय भएको पनि एमाले वृत्तमा चर्चा छ। श्रेष्ठ अर्थशास्त्री हुन्। उनले अन्तर्राष्ट्रिय मुद्रा कोषमा समेत काम गरिसकेका छन्।

अहिलेका अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र पनि गभर्नरका उम्मेदवार हुन्। उनको शक्तिको स्रोत हो- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे। यसबाहेक भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले पनि उनलाई सघाइरहेका छन्।
दुबै डेपुटी गभर्नरहरुले आ-आफ्नो दाबी प्रस्तुत गरिरहँदा कार्यक्षमताका आधारमा दुबै जना कमजोर रहेको बुझाइ राष्ट्र बैंकभित्रै छ। आरोप लगाउनेहरुको तर्क छ- अहिले खराब ऋणले डाँडा काट्न लागेको छ। बैंकिङ क्षेत्र निरास छ। स्वायत्ततामाथि जहिले आक्रमण भइरहेको छ। यस्तोमा दुबै डेपुटी गभर्नरले अहिलेका गभर्नरलाई सघाउने क्षमता पनि राखेनन्।
‘कार्यसम्पादन त दुबैको कमजोर छ। म्याडम बोल्दै नबोल्ने सानो समूहमा रमाउने’ त्यहाँका उच्च अधिकारीहरु नै भन्छन, ‘कान्छो डेपुटी चाहिनेभन्दा बढी बोल्ने। सँगसँगै ‘अन-प्रेडिक्टेवल’ पनि।’
दुबै जनाले महत्वपूर्ण जिम्मेवारी पाउँदा समेत काम देखाउन नसकेको र अहिलेको संकट पार लगाउने क्षमता दुबैसँग नभएको आरोप छ।
नयाँ गभर्नरका लागि केही बैंकरहरुको नाम पनि चर्चामा छ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले पनि प्रयास थालेका छन्।
एक-अर्काको उछितो काड्दै उम्मेदवार
गभर्नरका उम्मेदवारहरु आवद्धताका हिसाबले दुई खाले देखिएका छन्। एउटा निजी क्षेत्रको बैंकर र अर्को राष्ट्र बैंकमा काम गरिरहेको वा गरिसकेको।
राष्ट्र बैंकका क्याडरहरुले निजी क्षेत्रका बैंकरलाई गभर्नर बनाउन हुँदैन भनेर दिने एउटै तर्क हो- आफैंले नियमन गरेको मान्छे भोलि गभर्नर भएर आउँदा कुन मोरलले काम गर्न सकिन्छ?
बैंकरले दिने तर्क छ- राष्ट्र बैंकमा अहिले अर्थसचिव बाहेक तलदेखि माथिसम्म त्यहीँकै मान्छे भएका कारण नयाँ सोच पलाएन, त्यसैको उपज अर्थतन्त्र समस्यामा गयो। उनीहरु व्यवहारिक बन्न सकेनन्, जुन व्यवहारिकता राष्ट्र बैंकबाट बाहिर रहेकाहरुमा हुन्छ।
राष्ट्र बैंकभित्रै दुई धार छ। केहीले बहालवाला कार्यकारी निर्देशकलाई कसरी गभर्नर बनाउन मिल्छ भनेर प्रश्न उठाइरहेका छन्। कानुनले न बैंकका प्रमुख कार्यकारीलाई, न त बहालवाला कार्यकारी निर्देशकलाई गभर्नर बन्नबाट रोक्न सक्छ।
‘मेरो चिनजान छैन’
व्यवसायी भट्टले गभर्नर नियुक्तिका आफ्नो सरोकारको विषय नभएको बताउँदै डेपुटी गभर्नर ढुंगानासँग भेटघाट नभएको स्पस्ट पारे।
‘मलाई गभर्नर नियुक्तिको विषयमा अनावश्यक रुपमा तान्न खोजिएको छ। त्यसमा डेपुटी गभर्नर ढुंगानासँग भेटघाट होइन टेलिफोन सम्पर्क समेत नभएकोमा समेत मलाई जोड्नु अन्याय हो,’ उनले भने।
हेर्नुस् बिजमाण्डू डिस्कोर्समा भावी गर्भनरबारे छलफल