नेपाल-भारत कसको तरकारीमा बढी विषादी? ‘सरकारी ल्याबले दुईभन्दा बढी विषादी चिन्दैन’

सरला सुवेदी
२०८१ फागुन २९ गते १०:३० | Mar 13, 2025
नेपाल-भारत कसको तरकारीमा बढी विषादी? ‘सरकारी ल्याबले दुईभन्दा बढी विषादी चिन्दैन’


काठमाडौं । बजारमा पाइने हरिया तरकारी र फलफूलमा विषादी प्रयोगको मात्रा अत्यधिक भएका रिपोर्ट सार्वजनिक भइरहेका छन्। तर, कृषि उपज धेरै विषादी भएका कारण नष्ट गरेका खबर भने नगण्य छन्। आन्तरिक उत्पादन होस् या आयातित सबैमा समय समयमा विषादीको मात्रा धेरै भएको भेटिनु नौलो रहेन।

Tata
GBIME
NLIC

केही समययता साग, काउली, काँक्रो, सिमी, भण्टा, फर्सी लगायतमा विषादीको मात्रा मानव स्वास्थ्यका लागि हानिकारक मात्रामा पाइएका रिपोर्ट सार्वजनिक हुँदा उपभोक्तामा चिन्ता बढेको छ। विषादी परीक्षण गर्ने केन्द्रीय कृषि प्रयोगशाला र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हानिकारक मात्रा भेटिएका कृषि उपज बिक्री नगर्न सल्लाह दिँदै आएका छन्।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिको मण्डीमा आइपुगेका केही कृषि उपजको केन्द्रीय कृषि प्रयोगशालामा गरिएका परीक्षणमा केही दिन यता दिनहुँ विषादीको मात्रा अधिक पाइएका छन्। त्यसमध्ये केहीमात्र तरकारी क्वारेन्टाइनमा राखिएको छ। विषादीको मात्रा ४५ प्रतिशतभन्दा अधिक भेटिएका लागि नष्ट पनि गरिएको छ। 

 शनिबारमात्र धादिङबाट ल्याइएको काउलीमा ७१.४८ प्रतिशत अर्गानोफस्फेट भेटिएको छ। गएको शुक्रबार भारतबाट आइपुगेको पाकेको फर्सीमा ४८.२१ प्रतिशत अर्गानोफस्फेट भेटिएको छ। परीक्षण रिपोर्ट हेर्दा आन्तरिक उत्पादनमा विषादीको मात्रा बढी पाइएका छन्।

दुई महिनाअघि रायो सागमा ९९.३८ प्रतिशत विषादी प्रयोग भएको पाइएको थियो। तुलनात्मकरूपमा आयातित तरकारीमा भन्दा स्वदेशी उत्पादनमा विषादी बढी प्रयोग भएको परीक्षणमा देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण श्रेष्ठ भन्छन् ‘परीक्षणमा विषादीको मात्रा बढी देखिएका तरकारी र फलफूल बेच्न हुँदैन भनेर हामीले सचेत गराइरहेका हुन्छौं।’ उनका अनुसार विषादी प्रयोग गर्नै नहुने होइन तर त्यसको मात्रा सन्तुलित र बजारमा बेच्न ल्याउँदासम्म हानि गर्ने असर घटिसकेको हुनुपर्छ।

‘धेरै विषादी हालिएको रेड जोनमा पर्ने गरि तरकारी आयात भएको भेटिएको छैन,’ उनले भने, ‘विषादीको मात्रा बढी पाइएका तरकारी भेटिँदा त्यसलाई होल्ड गरेर राख्ने गरिएको छ।’

उनका अनुसार विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएका कृषि उपजले मानव स्वास्थ्यलाई हानि गर्दैन। विषादीको मात्रा ३५ प्रतिशतभन्दा बढी तर ४५ प्रतिशतभन्दा कम पाइएका कृषि उपजलाई क्वारेन्टाइन गरिने उनले जानकारी दिए।

‘गत महिनामा एक सय केजीभन्दा बढी घिउ सिमीमा विषादीको मात्रा धेरै पाइएपछि त्यसलाई होल्ड गरेर राखियो, विषादीको असर घटेपछि मात्रै बजारमा जान दिइयो,’ प्रवक्ता श्रेष्ठले भने। स्वदेशी कृषि उपजमा विषादीको मात्रा बढी भेटिनु चिन्ताको विषय भएको उनले बताए। कृषि उपजबाट अधिकतम लाभ लिन किसानले विषादी प्रयोगको मात्रामा खेलाँची गर्न नहुने उनको भनाइ छ।

विभागले उपत्यकामा भित्रिने आयातित तरकारी र फलफूल मोबाइलभ्यानमार्फत परीक्षण गर्ने गरेको छ। बजारबाट लिइने नमुनामा विषादीको मात्रा जाँच गर्दा बढी पाइएका कृषि उपज बेचबिखन रोक्न बजार विकास समिति पनि सतर्क हुनुपर्ने देखिन्छ। प्रयोगशालामा नमुना पठाएका कतिपय तरकारी विषादीको मात्राको रिपोर्ट आउञ्जेलमा बिक्री भइसकेको हुन्छ।  

केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत द्रोणबहादुर बुढाथोकी विषादी प्रयोगको मात्राबारे सबै किसान सतर्क हुन जरुरी रहेको बताउँछन्। ‘भ्यालीमा देशभरबाट तरकारी र फलफूल आउँछन्, यस्तो कुनै जिल्ला छैन जहाँबाट आएका तरकारीमा विषादी प्रयोगै नभएको होस्,’ उनले भने, ‘हरेक दिनको परीक्षणमा कुनै न कुनै जिल्लाबाट आइपुगेका तरकारीमा विषादीको मात्रा निर्धारितभन्दा बढी पाइन्छ।’ विषादीको प्रयोग भए पनि मात्रा उच्च भएका तरकारीले मानव स्वास्थ्यलाई जोखिम बढाइरहेको उनले बताए।

उपत्यकाको हकमा पनि सिजनअनुसारका तरकारीमा विषादीको मात्रा तोकिए भन्दा धेरै प्रयोग हुदा खान अयोग्य पाइने गरेको छ। होल्ड गर्नुपर्ने कम तरकारी हुन्छन्। तर विषादी धेरै भेटिएको तरकारी ४५ प्रतिशत भन्दा धेरै हुने भएकोले नष्ट गर्नुपर्ने उनले भने। 

पछिल्लो समय आयात भएको तरकारी र फलफूलको परीक्षण खाद्य गुणले गर्ने गर्छ भने आन्तरिक उत्पादन र आयातितको विषादी परिक्षण केन्द्रिय कृषि प्रयोगशालाले पनि गर्छ।

सरकारी कम्पनीको ल्याबले २ भन्दा बढी विषादी चिन्दैन् : विषादी विज्ञ

हाल बजारमा आएका हरिया तरकारी र फलफूलको विषादी परिक्षण गर्ने सरकारी कम्पनीहरुको रिपोट मान्न लाएक नभएको विषादी विज्ञ डिल्लीराम शर्माले बताउँछन्। केन्द्रिय कृषि प्रयोगशाला र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नाका क्षेत्र र देशको विभिन्न जिल्लामा विषादी परीक्षण गर्दै आएको छ। तर, यी दुई ल्याबमा कार्वामेन्ट र अर्गानोफस्फेट विषादीको अवशेष मात्र हेर्ने गरिएको उनले बताए। 

यो विषादी पहिले नेपाल र भारतमै धेरै प्रयोग हुने विषादी हो। यतिबेला यसको प्रयोग कम र अरु धेरै थरीका नयाँ विषादी प्रयोग हुन थालेको शर्मा बताउँछन्। भारतमा अहिले धेरै प्रकारका विषादी ‘रजिष्टर’ गरिएको छ।

‘भारतमा उत्पादन हुने तरकारीहरुमा विभिन्न विषादीको प्रयोग हुने गर्छ। हामीकहाँ भएको ल्याबले अरु विषादीको परीक्षण नहुने भएकोले बजारमा पाइने तरकारी र फलफूल विषादी रहित र सुरक्षित छ भन्न मिल्दैन्,’ शर्माको दाबी छ, ‘यहाँको ल्याबले अरु विषादी चिन्नदैन।’

नेपालमा ३५ प्रकारका विषादी ‘रजिष्टर’ छन्। २८ प्रकार भन्दा बढीको आयात प्रतिबन्ध लगाइएको छ। एकदमै घातक विषादीहरु पनि तरकारीमा प्रयोग भइरहेका छन्।

‘सरकारले अरु विषादीबारे थाहा छैन भनेर भन्न सक्नुपर्छ होइन् भने उपभोक्तालाई बजारमा पाइने तरकारी र फलफूल विषादी रहित छन् भनेर भ्रम छर्न हुँदैन,’ उनी भन्छन्।

विषादी विज्ञ शर्माका अनुसार नेपालमा अन्य विषादीको परिक्षणका लागि निजी क्षेत्रको ल्याब संचालनमा छ। यसमा ल्याब परीक्षण गर्दा बढी खर्च हुने पाइएको छ।