
काठमाडौं। सेयर बजार कारोबार ओरालो लाग्ने क्रममा अझै थामिएको छैन। फागुनका दुई साता लगातार उकालो लागेको बजार मंगलबार ३२.२१ अंकले घटेर २७१९.२० को विन्दुमा आएको छ।
कारोबार रकमका आधारमा अघिल्लो दिनका तुलनामा सामान्य बढोत्तरी देखिए पनि सेयर बजार लगातार ओरालो लागेको मंगलबार सातौं कारोबार दिन हो। नेप्से फागुन लागेपछि बढेर २८९० विन्दुमा पुगेकामा फेरि ओरालो लागेको छ।
साताको तेस्रो दिन विकास बैंक बाहेकका सबै समूह घट्दा बजार परिसूचक बढ्न नसकेको हो। २०९ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्। नेष्डो समृद्ध लघुवित्तको मूल्य सर्वाधिक ६.६९ प्रतिशतले घटेको छ।
३२ कम्पनीको सेयर मूल्य बढेको छ। महालक्ष्मी विकास बैंकको मूल्यमा पोजेटिभ सर्किट लागेको छ। मंगलबार ८ अर्ब ३९ करोड ११ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक हिमालयन रिइन्स्योरेन्सको ५८ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
त्यस्तै, नेपाल रिइन्स्योरेन्सको ५३ करोड ३६ लाख र महालक्ष्मी विकास बैंकको ४३ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। ३ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।
यसअघि सोमबार नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा रहँदा सबै उपसमूह घटेका थिए। ८ अर्ब ३७ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको थियो। साताको पहिलो दिन गत आइतबार परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा रहँदा पनि सबै समूहका सूचक घटेका थिए। सेयर कारोबार भने १० अर्ब ९ करोड ३६ लाख रुपैयाँको भएको थियो।