नाडा अटो शो भदौ ३ गतेदेखि हुने, स्टलको रजिष्ट्रेसन आजदेखि खोलियो

बिजमाण्डू
२०८१ फागुन २७ गते १२:२९ | Mar 11, 2025
नाडा अटो शो भदौ ३ गतेदेखि हुने, स्टलको रजिष्ट्रेसन आजदेखि खोलियो


काठमाडौं । नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालले २०८२ भदौ ३ देखि ८ गतेसम्म १७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ आयोजना गर्ने भएको छ।

Tata
GBIME
NLIC

नाडाको कार्य समितिले केही दिन अगाडि बसेको बैठकबाट भदौमा नाडा अटो शो गर्ने निर्णय गरेको हो।

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने सो प्रदर्शनीको लागि फागुन २७ देखि चैत्र ४ गतेसम्म स्टल बुकिङ/ रजिष्ट्रेशन खुल्ला गरिएको नाडाले जनाएको छ।

नाडाका अनुसार प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइनेछ।

प्रदर्शनीमा दुई पांग्रे, तीनपांग्रे, चारपांग्रे, लाइट कमर्सियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायत वित्तिय संस्था र इन्स्योरेन्सलाई समूह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेसन गर्न मिल्ने व्यवस्था मिलाइएको छ।

यस नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोबाइल कम्पनीहरुबाट समेत जानकारी माग भइरहेकोले गत वर्षहरुको तुलनामा यस वर्ष छिटै रजिष्ट्रेशन खुल्ला गरिएको समेत नाडाले जनाएको छ।

नाडा अटो शो समितिका सहसंयोजक अनुपकुमार बरालका अनुसार प्रदर्शनीले अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सिर्जनाका लागि विषेश योगदान पुर्‍याउँदै आइरहेको छ। सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने आयोजक नाडाले विश्वास लिएको छ।