
काठमाडौं। ऋण असुली प्रभावित भई बढ्दै गइरहेको खराब कर्जाका कारण पुँजीकोषको दबाबले लगानी प्रभावित हुँदा पनि लघुवित्त संस्थाहरु विकल्पको खोजीमा अघि बढ्न सकेका छैनन्। लघुवित्तहरु अन्योलको अवस्थामा देखिएका छन्।
राष्ट्र बैंकले व्यवसाय घटाउन वा मर्जरमा जान भनेका कारण अन्योलको अवस्था देखिएको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुले बताएका छन्।
‘रिकोभरी राम्रो हुँदै जाँदा रिजर्भ बढेर पुँजीकोष बढ्ने हो। अहिले कर्जा नोक्सानी बढिरहेको छ। यी सबै कारणले लघुवित्तमा नकारात्मक असर परेको छ,’ एक लघुवित्तका सीइओले भने, ‘अब की कर्जाको साइज घट्नु पर्यो जुन व्यवसायको हिसाबले राम्रो होइन। तत्कालै सुधार भइहाल्ने अवस्था नहुँदा अन्योल छ।’
नेपाल राष्ट्र बैंकले पुँजीकोषका लागि बैंक तथा वित्तीय संस्थालाई जस्तो लघुवित्तलाई अग्राधिकार सेयर जारी गर्न पाउने सुविधा दिएको छैन। राष्ट्र बैंकका कार्यकारी निर्देशक विमलराज खनालका अनुसार पुँजीकोषको दबाब भएका लघुवित्तले ऋणपत्र जारी गर्न पाउँछन्।
खनाल अधिकांश संस्थाहरुमा पुँजीकोषको दबाब भए पनि समस्या समाधानका लागि कुनैपनि संस्था राष्ट्र बैंकसमक्ष नआएको बताउँछन्।
‘पुँजीकोषको दबाब भएका संस्थाहरुले लगानी बढाउन सक्ने अवस्था छैन। लगानीका लागि असुली बढाउनुपर्छ,’ उनले भने, ‘लघुवित्तले ऋणपत्र जारी गर्न पाउने व्यवस्था छ। तर, अहिलेसम्म कुनैपनि लघुवित्तले ऋणपत्र जारी गर्ने प्रक्रिया अगाडि बढाएका छैनन्।’
ऋणपत्रमा लघुवित्तहरुको रुची छैन। कर्जाको माग नरहेका कारण ऋणपत्र जारी गरेर उठाएको रकमको ब्याज तिर्नै नसक्ने स्थिति आउने उनीहरुको बुझाइ छ। लघुवित्तहरुले खासमा हकप्रद सेयर जारी गर्न चाहेका छन्।
‘पुँजीकोषको दबाबबाट बाहिरिनका लागि हाम्रा लागि सबैभन्दा राम्रो विकल्प हकप्रद सेयर हो। तर, अनौपचारिक कुराकानीका क्रममा राष्ट्र बैंकले हकप्रद निष्कासन गर्न नदिने संकेत गरेको छ। त्यहीकारण अहिले हामी अन्योलकै अवस्थामा छौं,’ अर्का लघुवित्तका सीइओले भने, ‘राष्ट्र बैंकले मर्जर गर्न भने पनि हामी त्यतातर्फ इच्छुक छैनौं। मर्जर गर्न सजिलो छैन। संचालक र सीइओले आफ्नो संस्थाको अस्तित्व मेटियोस् भन्ने चाहने कुरा भएन। मर्जरमा गएकाहरुमा पनि पुँजीकोषको समस्या छ। यस्तै यसअघि मर्जरमा गएकाहरुलाई भूतप्रभावी कानुन जगाएर कर तिराइएकाले पनि हाम्रो रुची नभएको हो।’
पुँजीकोष दबाबका कारण यतिबेला डेढ दर्जन लघुवित्त लगानी बढाउन नसक्ने स्थितिमा छन्। यस्तो अवस्थामा पुँजी बढाउने वा ऋण लगानी रोकेर असुली गर्नुको विकल्प छैन।
अहिले असुली सुधार भइ पुँजीकोष दबाब कम हुने देखिंदैन। त्यसकारण पुँजीकोषको दबाबमा रहेका लघुवित्त अप्ठेरो अवस्थामा छन्।
विजय लघुवित्तका सीइओ वसन्तराज लम्साल पुँजीकोषको दबाबका कारण अधिकांश संस्था ऋण लगानी बढाउन सक्ने स्थितिमा नरहेको बताउँछन्।
‘अझै पनि अपेक्षा गरेअनुसार रिकोभरी भइरहेको छैन। तत्कालै असुलीमा सुधार भइहाल्ने अवस्था देखिंदैन,’ उनले भने, ‘लगानी बढाउन पुँजीकोषले सपोर्ट नगर्ने हुँदा अधिकांश संस्था समस्यामा छन्।’
लघुवित्त वित्तीय संस्थाले आफ्नो कुल जोखिम भारित सम्पत्तिको आधारमा प्राथमिक पुँजी ४ प्रतिशत र कुल पुँजीकोष ८ प्रतिशत कायम गर्नुपर्छ। यतिबेलामा १९ वटा लघुवीत्तको पुँजीकोष सीमा वरिपरि छ।
मातृभूमिको पुँजीकोष ८.०७, सम्पदाको ८.८६, नेरुडे मिर्मिरेको ८.८१, विन नेपालको ८.८४, आरम्भ चौतारीको ८.४५, सीवाइसीको ८.२५, लक्ष्मीको ८.९५, हिमालयनको ८.६०, माहुलीको ८.८७, सामुदायिकको ८.४७, नाडेपको ८.७१, स्वाभिमानको ८.३५, गुराँसको ८.२१, महिलाको ८.२४, श्रृजनशीलको ८.६१, उपकारको ८.२५, उन्नति सहकार्यको ८.०८, युनिक नेपालको ८.८९ र धौलागिरीको ८.२३ प्रतिशत छ।