
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४० औं वर्षमा प्रवेश गरेको छ। आज बैंकले आफ्नो ३९औं वार्षिकोत्सव मनाएको हो।
यस अवसरमा बैंकका अध्यक्ष पृथ्बी बहादुर पाँडेले बैंकका ग्राहक, संस्थापक, सेयरधनीहरु, संचालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरुलाई बैंकप्रति देखाएको विश्वास र निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्।
यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेले बैंकले प्रदान गर्दै आएका वित्तीय सेवाहरूलाई अझ प्रभावकारी बनाउन आधुनिक प्रविधि अपनाइएको बताउँदै डिजिटल बैंकिङ सेवाहरूलाई थप सशक्त पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले ग्राहकवर्गहरूको सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवाहरु प्रस्तुत गरिरहने उनले बताए।
बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारी विगत ७ वर्षदेखि वित्तीय साक्षारतामा आधारित चित्र पुस्तकहरु प्रकाशन गर्दै आएको छ। ३९औं वार्षिकोत्सवमा पनि बैंकले आफ्नो सातौं संस्करण “डिजिटल बैंकिङको जादु” नामक चित्र पुस्तक सार्वजनिक गरेको छ। उक्त चित्रकथाको एउटा महत्वपूर्ण उद्देश्य बालबालिकालाई बैंकिङ प्रणाली तथा यसको प्रभावकारी प्रयोगबारे सचेत गराउनु र अर्को उद्देश्य अभिभावकहरुलाई आधुनिक डिजिटल बैंकिङ सेवाहरुको प्रयोग गर्न प्रेरित गराउनु रहेको छ।
३९औं वार्षिकोत्सवमा बैंकले ग्राहकवर्गहरु माझ नयाँ बचत खाता ‘नव आयाम बचत खाता’ ल्याएको छ। यो खाता ग्राहकले ३९ रुपैयाँ मौज्दात मै खोल्न सक्नेछन्। यसमा ३९ रुपैयाँमा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) सुविधा, ३९ रुपैयाँमै भर्चुअल प्रिपेड कार्ड सुविधा, ३९ रुपैयाँमा डेबिट कार्ड सुविधा, ३९ रुपैयाँमा क्रेडिट कार्ड सुविधा र लकर सुविधामा पनि ३९% छुट पाउनु हुनेछ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले हाल देशभर २८३ शाखा रहेको ट। यस्तै, २६६ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६६ शाखारहित बैंकिङ काउण्टरबाट बैंकले सेवा प्रदान गरिरहेको छ।