
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको दोसो त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ। मंगलबार बेलुका ५ बजे सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीति समीक्षा गर्ने राष्ट्र बैंकको तयारी छ।
सोमबार व्यवस्थापन समितिकाे बैठक सम्पन्न भएकाे स्रोतले जनाएको छ। विभागीय स्तरबाट भने मौद्रिक नीति समीक्षा गर्दा परिवर्तन गर्नुपर्ने विषयहरु सुझावका रुपमा नआएको बैठकमा जानकारी गराइएको थियो।
‘मौद्रिक नीतिको समीक्षाका लागि व्यवस्थापन समितिमा र विभागहरुले ल्याएको प्रस्तावमाथि छलफल भइसकेको छ,’ स्रोतले भन्यो, ‘मंगलबार बेलुका ५ बजे सञ्चालक समिति बसेर मौद्रिक नीति समीक्षा गर्ने तयारी छ। राष्ट्र बैंकले थप लचकता अपनाउने ठाउँ नभएको छलफलको निष्कर्ष छ।’
मौद्रिक नीतिमार्फत लचकता अपनाउने ठाउँ नहुँदा नयाँ विषयले नपाउने स्रोतको दाबी छ। सञ्चालक समितिको बैठकबाट थप एजेण्डा नल्याए नियामकीय र मौद्रिक पुनरावलोकन नगरी राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्नेछ।
यता, ब्याजदर घट्दै आइरहे पनि कर्जाको माग बढ्न नसकेको बेलामा बैंक तथा वित्तीय संस्थाहरुले सेयर तथा बण्डमा लगानी सीमा खुकुलो नीति अवलम्बन गरिदिन माग गरेका थिए।
साथै, नयाँ व्यवसाय बढाउन नसकिने र पुरानो असुलीमा सुधार नहुँदा बढ्दो प्रोभिजनिङले नाफा प्रभावित हुन थालेपछि बैंकहरुले निर्माण क्षेत्रको कर्जा तिर्ने समय समय थप गर्न माग गरेका थिए। चालु पुँजी कर्जाको व्यवस्था लचिलो भइदिन बैंकले माग राखेका थिए।
यी विषयमा राष्ट्र बैंकमा कुनै छलफल नभएको स्रोतको दाबी छ।