ब्याज खर्च घटेसँगै बैंकहरुको लागत सस्तियो, स्प्रेड कायम गर्न सके नाफामा सुधार हुने

आकाश बोगटी
२०८१ फागुन १२ गते १६:४३ | Feb 24, 2025
ब्याज खर्च घटेसँगै बैंकहरुको लागत सस्तियो, स्प्रेड कायम गर्न सके नाफामा सुधार हुने


काठमाडौं। दुई वर्ष अघिसम्म १२/१३ प्रतिशत ब्याजदरमा निक्षेप तानातान गरेका बैंकहरुले लगानी बढाउन नसकेपछि घटाउँदै गएको ब्याजदर र अन्य प्रशासनिक खर्चका कारण कोष लागत (कष्ट अफ फण्ड) घट्न पुगेको छ।

Tata
GBIME
NLIC

अपेक्षाकृतरुपमा कर्जाको माग नबढेपछि निरन्तर घटाएको खर्चले बैंक तथा वित्तीय संस्थाहरुको कष्ट अफ फण्ड घट्न पुगेको हो। पछिल्लो एक वर्षमा बैंकहरुको यस्तो लागत २.७५ प्रतिशतले घटेको छ। यसले बैंकहरुको आम्दानी सुधार हुनेछ।

लागत कम हुँदै जाँदा बैंकहरुको अहिलेको स्प्रेड (कर्जामा लिने र निक्षेपमा लिने ब्याज अन्तर) यथावत रहे पनि आम्दानीमा सुधार हुन्छ। तर, खराब ऋण बढेमा नोक्सानी व्यवस्थापन खर्च वृद्धि भइ आम्दानी प्रभावित हुन सक्छ।

बैंकको लागत कम हुँदा ऋणको ब्याजदर ग्राहकलाई पनि सस्तो पर्न जान्छ।

बैंकहरुले ग्राहकलाई दिने निक्षेपको औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ। चालु आर्थिक वर्ष पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको औसत ब्याजदर ४.७५ प्रतिशतमा आइपुगेको छ।

ऋणको माग नरहेकाले तत्कालै ब्याजदर बढिहाल्ने अवस्था नरहेको बैंकरहरु बताउँछन्।

कर्जाको माग बढ्न नसकेका कारण बैंक तथा वित्तीय संस्थाहरुले अहिले ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा पैसा राखिरहेका छन्।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे बैंकहरुको लागत घटेसँगै त्यसको प्रभाव आधार दरमा पर्ने बताउँछन्। बैंकहरुको कष्ट अफ फण्ड घटेसँगै बेसरेट तल आइ कर्जा सस्तिंदै गइरहको उनको भनाई छ।

‘कष्ट अफ फण्ड घट्दै जाँदा ऋणीको कष्ट अफ बरोइङ घट्दै जान्छ,’ उनले भने, ‘कष्ट अफ फण्ड बढ्दै जाँदा ऋणीलाई कष्ट अफ बरोइङ बढ्दै जान्छ। त्यसकारण अन्तत: यसको प्रभाव पर्छ।’

बैंकहरुको लागत कम भएसँगै ऋणीहरुले राहत पाएको उनको भनाइ छ।

बैंकहरुको लागत घटेसँगै पुस मसान्तमा वाणिज्य बैंकहरुको बेसरेट ६.६४ प्रतिशतमा झरेको छ। बेसरेट घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु पनि हो।

विगतमा १२/१३ प्रतिशतमा लिएको मुद्दती निक्षेपको औसत ब्याजदर १० प्रतिशतभन्दा तल झरिसकेको छ। महँगोमा लिएको निक्षेप परिपक्व हुँदै सस्तोमा नवीकरण हुन थालेपछि त्यसले बैंकहरुको लागत घटाउन मद्दत पुगेको छ।    

कर्जा लगानी बढ्न नसकेका कारण निक्षेपको ब्याजदर निरन्तर घटाउँदा त्यसले कोष लागत कम भइ आफूहरुलाई राहत पुगेको एक बैंकका सीइओले बताए।

‘लागत घटेसँगै हामीलाई केही राहत मिलेको छ। हिजो ५ प्रतिशतमा डिपोजिट गरिरहेकाले अहिले ३ प्रतिशतमा पैसा राखिरहेका छन्। त्यसले बैंकहरुलाई केही फाइदा हुन्छ। अहिले इन्भेष्टमेन्ट गर्ने ठाँउ छैन। त्यसकारण अहिले घटेको लागतले सकारात्मक प्रभाव गर्छ,’ ती सीइओले भने, ‘घटेको लागतले बैंकहरुलाई मात्र नभएर ऋणीलाई समेत राहत मिलेको छ। बेसरेट घटेर कर्जा सस्तिंदै गएको छ।’